दुलेगाैडा : तीव्र गतिमा फैलिरहेको कोरोना भाईरस नियन्त्रणका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता प्रदिप पौडेलले स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ । शनिबार गृह जिल्ला तनहुँका अस्पताल र स्थानीय तहलाई उहाँले अक्सिजन कन्सन्ट्रेटर सहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गर्नुभएको हो ।
उहाँले मास्क अभियान अन्तर्गत यहाँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारालाई चार थान, भानु नगरपालिका र शुक्लागण्डकी नगरपालिकालाई २÷२ थान अक्सिजन कन्सन्ट्रेटरको साथमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।
दमौली अस्पताललाई पिपिई लगायतको स्वास्थ्य सामग्री दिइएको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कन्सन्ट्रेटर सहित ५० हजार सर्जिकल मास्क, ४ सय थान पिपिई, सेनिटाईजर, पञ्जा, फेस लाईट, औषधीका कार्टुन, सरसफाई र चिकित्सकीय सामग्री सहयोग गरिएको छ ।
बोधिसत्ता विहार, नेपाल मेडिकल एशोसिएसन लगायतका संस्था र व्यक्तिसँगको सहकार्यमा गृह जिल्लालाई कोरोना नियन्त्रणमा सघाउन खोजेको उहाँले बताउनुभयो । मास्क अभियान अन्तर्गत स्वास्थ्य संस्थाको उपचारलाई प्रभावकारी बनाउन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामग्री उपलब्ध गराएको उहाँको भनाई छ । ‘यी सामग्रीले चिकित्सकीय सुविधा प्रदान गर्नका निम्ति प्रभावकारी बनाउँछ,’ उहाँले भन्नुभयो ।
जिल्लाका स्वास्थ्य संस्थालाई सघाउने उहाँको प्रतिबद्धता छ । उहाँले मास्क अभियान अन्तर्गत मास्क लगाउनलाई सचेतना फैलाउने जानकारी दिनुभयो । उहाँले तनहुँका हरेक नागरिकलाई मास्क बाँड्न फेरि एक लाख मास्क लिएर आउने जनाउनुभयो ।
स्रोत साधनको कमी भएतापनि सङ्क्रमितको उपचारमा खटिरहेको बेला सहयोग आउने क्रम बढेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । ‘सबै पक्षको सहयोगले अस्पतालको हौसला बढाईरहेको छ,’ उहाँले भन्नुभयो ।