एजेन्सी : यूरो २०२० मा विजयी शुरुवात गर्ने क्रममा क्रिस्टियानो रोनाल्डोले दुई नयाँ कीर्तिमान बनाउन सफल भएका छन् । मंगलबार राति भएको खेलमा पोर्चुगल हंगेरीविरुद्ध ३–० गोलले विजयी बनेको हो ।
पोर्चुगललाई जीत दिलाउन क्रिस्टियानो रोनाल्डोले दुई तथा राफायल गुरेरोले एक गोल गरे । योसँगै रोनाल्डो यूरोपियन च्याम्पियनसीपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । उनले मिसेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान उछिनेका हुन् । खेलमा रोनाल्डोले प्रतियोगितामा १० औँ र ११ औँ गोल गरे । दुई गोलसँगै सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानको पनि उनी झनै नजिक पुगेका छन् ।
त्यस्तै, रोनाल्डो पाँचवटा यूरोपियन च्याम्पियनसीप खेल्ने पहिलो खेलाडी पनि बनेका छन् । बुडापेस्टमा भएको खेलमा शुरुवात गर्दै रोनाल्डोले यो कीर्तिमान पनि बनाएका हुन् । सन् २००४ मा उनले पहिलोपटक प्रतियोगितामा भाग लिएका थिए ।