एजेन्सी : युरोकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार साँझ फान्सले हंगेरीसँग अंक बाँडेको छ। हंगेरीको घरेलु मैदान बुडापेस्टमा भएको खेलको पहिलो हाफमा १-० ले पछाडि परेको फ्रासले दोस्रो हाफमा बराबरी गोल फर्काएको हो।
हंगेरीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता लिएको थियो। घरेलु मैदानमा हंगेरीका एटिला फिओलाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै बल आफ्नो पकडमा राखेको फ्रान्सले गोल गर्न नसकेको फाइदा हंगेरीले उठाएको थियो। दोस्रो हाफको ६६ औं मिनेटमा एम्बाप्पेको पासमा एन्टोनियो ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन्।
खेल अवधिभर मैदानमा फ्रान्सको पकड देखिए पनि बराबरीमा चित्त बुझाउन बाध्य भएको हो। शनिबारको खेल बराबरीमा सकिएसँगै समूह ‘एफ’ को फ्रान्सले चार अंक जोडेको छ। दुई खेल खेलेको फ्रान्स चार अंकसहित शीर्ष स्थानमा छ। पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० ले पराजित गरेको थियो।
शनिबार फ्रान्ससँग बराबरी खेलेको हंगेरीले एक अंक जोडेको छ। पहिलो खेलमा हंगरी पोर्चुगलसँग ३-० ले पराजित भएको थियो।