तनहुँ : शहरी भन्दा ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्न थालेपछि स्वास्थ्य कार्यालय तनहुँले एन्टिजेनको परीक्षण बढाएको छ । ग्रामीण भेगमा सङ्क्रमण जोखिम बढेपछि कार्यालयले एन्टिजेनको परीक्षण बढाएको हो ।
स्वास्थ्य कार्यालयले प्रत्येक स्थानीय तहलाई एन्टिजेन किट उपलब्ध गराउँदै आएको छ । कार्यालयमा पर्याप्त मात्रामा किट रहेकाले स्थानीय तहले मागेजति किट उपलब्ध गराइने कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । “पिसीआर रिपोर्ट आउन ढिलाई हुने र एन्टिजेन पनि पिसीआर सरह नै भएकाले यसको दायरा बढाएका छौ,” उहाँले भन्नुभयो, “एन्टिजेनबाट १५÷२० मिनेटमै नतिजा आउँछ ।”
कार्यालयमा पछिल्लो पटक सात हजार दुई सय एन्टिजेन किट आएको थियो । एन्टिजेनबाट कोरोना परीक्षणका लागि सबै पालिकाका स्वास्थ्यकर्मीलाई तालिम दिइएको छ । एन्टिजेन परीक्षणका लागि दबाब पनि आउने गरेकाले जोखिममा रहेकालाई मात्रै परीक्षण गर्ने गरिएको छ । “कतिपय ठाउँमा चिनेजानेका व्यक्तिले यत्तिकै पनि एन्टिजेन गर्नुप¥यो भन्नुहुन्छ, तर अवस्था हेरेर मात्रै परीक्षण गराएका छौ,” अधिकारीले भन्नुभयो ।
तर जिल्लाका कतिपय ठाउँमा भने समाजबाट अपहेलित हुने डरले सर्वसाधारण परीक्षणको दायरामा आउन मानेका छैनन् । “सङ्क्रमित भएपछि हाम्रो समाजले हेर्ने नजर राम्रो नभएकाले लक्षण देखिएपनि कतिपय लुकाएरै बस्ने गरेका छन्, त्यसले जोखिम झन् बढाउँछ,” उहाँले भन्नुभयो, “यसका लागि सकारात्मक सन्देश फैलाउन पनि उत्तिकै आवश्यकता छ ।”
पछिल्लो नौ दिनमा सङ्क्रमण बढ्यो
विगत नौ दिनको अवधिमा जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो छ । पछिल्लो नौ दिनको अवधिमा मात्रै जिल्लाभर चार सय ६० सङ्क्रमित थपिएका छन् । ग्रामीण भेगमा स्वास्थ्य मापदण्ड बिना हुने भोजभतेर, चियापसलका जमघट लगायतका कारण सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको स्वास्थ्यकर्मी बताउँछन् ।
जिल्लामा दोस्रो चरणमा दुई हजार ८ सय ७० जनामा कोरोना सङ्क्रमण भएकामा ७ सय ९१ सक्रिय सङ्क्रमित छन् । त्यसमध्ये शुक्लागण्डकी नगरपालिकामा धेरै सङ्क्रमित छन् भने मृत्युदर पनि शुक्लागण्डकीमै बढि रहेको छ ।
व्यासमा एक सय ८०, भिमादमा एक सय १८, भानु नगरपालिकामा ३१, म्याग्दे गाउँपालिकामा ९५, घिरिङ गाउँपालिकामा नौ, ऋषिङ गाउँपालिकामा २५, बन्दिपुर गाउँपालिकामा ९०, देवघाट गाउँपालिकामा पाँच, आँबुखैरेनी गाउँपालिकामा २६ सक्रिय सङ्क्रमित छन् ।
७७ को मृत्यु
दोस्रो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट जिल्लामा ७७ जनाको मृत्यु भएको छ । गत वर्षको पहिलो भेरियन्ट सहितको कोरोना सङ्क्रमणबाट थप २५ जनाको मृत्यु भएको थियो । यस अवधिमा व्यासका १७, भिमादका १२, भानुका छ, म्याग्देका चार, घिरिङका तीन, देवघाटका एक र आँबुखैरेनीका एक जनाको मृत्यु भएको छ ।
कार्यालयले कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि विभिन्न कार्य गर्दै आएको छ । अभिमुखीकरण, सचेतनामूलक कार्यक्रम, परीक्षणको दायरा वृद्धि, सञ्चारमाध्यमबाट जनेचतनामूलक जानकारी, परामर्श सेवा लगायतका कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।
ग्रामीण भेगमा हुने चियापान, भोजभतेर, पूजापाठ, विवाह, ब्रतबन्ध, जुवातास लगायतका मानिसहरु जमघट हुने क्रियाकलापमा बन्देज गर्दै मास्कको उचित प्रयोग गर्ने तथा जनस्वास्थ्यका मापदण्डको प्रयोग गर्न सके कोभिड न्यूनीकरण गर्न सकिने अधिकारीले बताउनुभयो ।