तनहुँ : कोरोना कहर र निषेधाज्ञाका कारण व्यवसायी आक्रान्त भएकाले स्वास्थ्य मापदण्ड पालना गरी व्यापार व्यवसाय खोल्न पाउनुपर्ने माग गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घले निजी क्षेत्रले निषेधाज्ञालाई पूर्ण रुपमा पालना गरिरहेको भन्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी जिल्ला अन्तर्गतका व्यापार व्यवसाय सञ्चालनका लागि आवश्यक प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारीसँग माग गरेको छ ।
तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी छ । पाँच पटक थप भएको निषेधाज्ञाको अन्तिम पटक असार ७ गते राति १२ बजेसम्म थप गरिएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण व्यवसायी आक्रान्त भएको र निजी क्षेत्र पूर्ण रुपमा विस्थापित हुने अवस्थामा पुगेको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।