दमाैली : तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिका खेलमैदानस्थित भत्किएको पर्खाल पुनः निर्माण गरिएको छ । गत जेठ २३ गते परेको वर्षाले ढिस्को खसेर पर्खाल भत्किएको थियो । गुणस्तरहिन कामको असरका कारण सामान्य वर्षाले पनि पर्खाल भत्किएको थियो ।
भत्किएको पर्खालको व्यास नगरपालिकाले पुनः निर्माण गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले ढुङ्गाको गारो लगाएर पर्खाल निर्माणको काम भइरहेको जानकारी दिनुभयो ।
नगरपालिकाले विसं २०७६ सालमा सम्झौता गरी उपभोक्ता समितिमार्फत् पर्खाल निर्माण गराएको थियो । कूल रु ५० लाखको योजनामध्ये रु दश लाख अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले रु दश लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
नगरपालिकाले सम्झौताकै वर्ष उपभोक्ता समितिलाई रु १३ लाख २० हजार पेश्की दिएको थियो । कमजोरी लुकाउन उपभोक्ता समितिले केही समय अगाडी मात्रै पर्खालमा प्लाष्टर समेत गरेको थियो । नगरपालिकाले भने सम्झौता भएपछि उपभोक्ता समितिले प्राविधिकसँग समन्वय नगरी काम गरेको बताएको छ । उपभोक्ता समितिले गरेको काम प्राविधिक हिसाबले नभएपछि नगरपालिकाले विसं २०७७ साउन २१ गते सम्झौता रद्द गरेको थियो ।
उपभोक्ता समितिमार्फत् रु १७ लाखको काम भएको मूल्याङ्कनपछि नगरपालिकाले आफ्नो दायित्वको ८० प्रतिशत रकम फछ्र्यौट गरेको जनाएको छ । बिममाथिबाट पिल्लर उठेको हुनाले त्यो भन्दा माथि थप संरचना निर्माण गर्न नमिल्ने प्राविधिकले ठहर गरेका थिए ।