दमाैली : तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷७९ का लागि रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको बिहीबार आयोजित ३५ औं नगरसभामा उपप्रमुख मीरा जोशीले आगामी वर्षका लागि अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्ष भन्दा आगामी वर्षका लागि रु २५ करोड बढीको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब ५२ करोडको बजेट ल्याएको थियो ।
कूल बजेटमध्ये आर्थिक विकास तर्फ रु दश करोड ११ लाख ९६ हजार, सामाजिक विकासतर्फ रु ९३ करोड १७ लाख ७५ हजार, पूर्वाधार विकासतर्फ रु ४५ करोड ३८ लाख २५ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु चार करोड ६६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह र सुशासनतर्फ रु दुई करोड ५४ लाख ६६ हजार विनियोजन गरिएको छ ।
कूल विनियोजित बजेटमध्ये चालुतर्फ रु एक अर्ब दुई करोड ८७ लाख १२ हजार र पुँजीगततर्फ रु ७५ करोड दुई लाख विनियोजन गरिएको छ । उपप्रमुख जोशीका अनुसार कूल बजेटमध्ये आर्थिक विकासमा ५.६९, सामाजिक विकासमा ५२.३८, पूर्वाधार विकासमा २५.५१, वातावरण तथा विपद् व्यवस्थापनमा २.६२ प्रतिशत, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ १३.८० प्रतिशत विनियोजन गरिएको छ ।
उक्त बजेटमध्ये सङ्घ सरकारबाट सशर्त अनुदान बापत ५६ करोड १७ लाख, सङ्घ सरकारको सामाजिक सुरक्षा अनुदानबापत रु २१ करोड, आन्तरिक श्रोतको आयबाट रु २० करोड ५० लाख, सङ्घ सरकारको वित्तीय समानिकरण अनुदान रु १९ करोड ७६ लाख, सञ्चित कोष अल्याबाट रु १५ करोड ३७ लाख १२ हजार, सङ्घ सरकारको राजश्व बाँडफाँडबाट रु १२ करोड ९८ लाख ५१ हजार, राजश्व बाँडफाँड अन्तर्गत मालपोत रजिष्ट्रेशनबाट रु १० करोड आम्दानी हुने अनुमान छ ।
त्यस्तै नगर विकास कोष ऋणबाट रु दश करोड, प्रदेश वित्तीय समानीकरण अनुदानबाट रु दुई करोड ४४ लाख ७८, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट रु एक करोड ७४ लाख ७५ हजार, गाउँ नगर साझेदारी कोषबाट रु एक करोड ६५ लाख, सङ्घघ विशेष अनुदानबाट रु एक करोड ३७ लाख, प्रदेशको विशेष अनुदानबाट रु एक करोड, प्रदेशको सशर्त अनुदानबाट रु एक करोड आम्दानी हुने अनुमान छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष ०७७÷७८ को जेठ मसान्तसम्म कूल यथार्थ आय रु एक अर्ब ३५ करोड ९७ लाख सात हजार छ सय २१ र व्यय रु एक अर्ब एक करोड २० लाख ६३ हजार एक सय ६८ रहेको जनाएको छ ।
यस अघि विसं २०७७ माघमा ३४ औं नगरसभाबाट पारित चालु आर्थिक वर्षको संशोधित आय सङ्घ सरकारबाट प्राप्त अनुदान रु एक अरब छ करोड ९३ लाख ७३ हजार दुई सय, गण्डकी प्रदेश सरकारबाट प्राप्त अनुदान रु तीन करोड ५३ लाख ८७ हजार, आन्तरिक श्रोतबाट प्राप्त रकम रु २० करोड ४७ लाख, अन्य आयबाट प्राप्त रकम रु दश करोड ६२ लाख ८१ हजार, लागत सहभागिताबाट र अघिल्लो वर्षको अल्या गरी रु १५ करोड ६९ लाख ७० हजार ८ सयको अनुमान गरेको थियो ।
नगर क्षेत्र भित्रको करको आधार फराकिलो पार्दै आन्तरिक राजश्व वृद्धि गर्न कर तथा गैरकर राजश्वको अधिकत्तम परिचालन गर्ने नीति लिइएको उपप्रमुख जोशीले बताउनुभयो । उहाँका अनुसार सेवा शुल्क र दस्तुरका दर, व्यवसाय कर, सम्पत्ति कर एवं भूमि कर, घर नक्सा पास दस्तुर, खानीजन्य ढुङ्गा, गिटी, बालुवा, ग्राभेल, रोडा, स्लेट ढुंगा, खरी, चुनढुङ्गा, ब्लक, इट्टा, कटिङढुङ्गा, कवाडी सामान र काठ आदिमा लिइने दस्तुर यथावत राखी करको दायरा फराकिलो पार्ने नीति अवलम्बन गरिएको छ ।