तनहुँ : कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजनाको कार्यालय शनिबार स्थापना गरिएको छ । उपप्रधान, गृह एवं अर्थमन्त्री विष्णु पौडेलले कार्यालयको शुभारम्भ गर्नुभयो ।
गण्डकी प्रदेशको स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङगा र लुम्बिनी प्रदेशमा पाल्पाको रम्भा गाउँपालिका–३ पीपलडाँडामा बाँध बाँधेर २७ किलोमिटर लामो सुरुङबाट पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिने यो परियोजनाको कार्यालय स्थापना भएसँगै विरोध शुरु भएको छ ।
गण्डकी प्रदेश सरकारसँगै यो परियोजनाबाट असर व्यहोर्नुपर्ने कालीगण्डकीको तल्लो तटीय क्षेत्रका स्थानीय सरकारले पनि यो परियोजनाप्रति तीव्र असन्तृष्टि जनाउन थालेका छन् । देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर यो परियोजनाले धार्मिक पर्यटनलाई सखाप पार्ने बताउनुभयो । संसारमै शालिग्राम पाउने एक मात्र नदी कालीगण्डकी भएको बताउँदै उहाँले संरक्षणको आवश्यकता औल्याउनुभयो ।
‘शालिग्रामलाई भग्वानका अवतार मानिन्छ । मुक्तिनाथदेखि वहने हुदाँ यो नदी असाध्यै पवित्र मानिन्छ । डाइभर्सनले धार्मिक पर्यटनलाई असर पार्नेछ,’ उहाँले भन्नुभयो । उहाँले कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजनाका कार्यालय स्थापना भएकोप्रति घोर आपत्ति जनाउनुभयो । उहाँले आफूहरु चरम आन्दोलनमा उत्रने चेतावनी समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी विकास बाधक होइनौ, विकास हुनुपर्छ । तर, एकातिर विकास हुँदा अर्कोतिर विनाश हुनु पक्कै राम्रो होइन ।’