दमाैली : व्यास नगरपालिका–४ भोर्लेटारचोकमा निर्माण गरिएको प्रहरी बिट आइतबार हस्तान्तरण गरिएको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रहरी उपरिक्षक अरुण पौडेललाई उक्त बिटको साँचो हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा नगरप्रमुख न्यौपानेले समाजमा शान्ति सुरक्षा कायम गर्ने सवालमा नगरपालिका सदैव प्रहरीको साथमा रहेको प्रतिबद्धता जनाउनुभयो । नागरिक स्तरका निकाय र सुरक्षा निकाय एकसाथ मिलेर सहकार्य गरेमा समाजमा शान्ति सुरक्षा कायम हुने नगरप्रमुख न्यौपानेको भनाई थियो ।
प्रहरी उपरिक्षक पौडेलले ट्राफिक व्यवस्थापन, प्रहरी भवन निर्माण, सिसिटिभी मर्मत लगायतका क्षेत्रमा नगरपालिकाको उल्लेख्य सहयोग प्राप्त भएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।
व्यास नगरपालिकाले रु एक लाखको लागतमा प्रहरी बिट निर्माण गरेको हो ।