तनहुँ : गत वैशाख २२ गतेदेखि तनहुँमा निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा असार १६ गते राति १२ बजे सकिदैछ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको निष्कर्ष सहित जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो पटक केही खुकुलो सहित निषेधाज्ञा जारी गरेको थियो ।
यसबीचमा जिल्लामा अत्यावश्यक पसलका लागि बिहान ५ देखि ९ र अन्य व्यवसाय ८ देखि ११ बजेसम्म खुल्ला गरिएको छ । असार १६ गतेपछि निषेधाज्ञा कस्तो हुन्छ भन्नेमा आम चासो छ । कतिपयले अझैपनि जोखिम रहेको भन्दै अहिलेकै तरिकामा निषेधाज्ञा गर्नुपर्ने र कतिपयले स्वास्थ्य मापदण्ड पालना गरेर थप खुकुलो बनाउनुपर्ने बताउँदै आएको छ ।
जिल्ला प्रशासन कार्यालय तनहुँले भने निषेधाज्ञालाई कस्तो बनाउने भन्नेमा सर्वसाधारणसँग सुझाव मागेको छ । सामाजिक सञ्जालमार्फत् मागिएको सुझावमा पनि सर्वसाधारणको दुईथरी विचार प्रस्तुत छ । बैङ्क तथा वित्तीय संस्था २/३ बजेसम्म खुल्ला हुने भएपछि व्यवसाय पनि सोही अवधिमसम्म खोल्न पाउनुपर्ने व्यवसायीको माग छ।
केही व्यक्तिले सार्वजनिक सवारी जोर विजोरमार्फत् सञ्चालन गर्नुपर्ने र केहीले भने सार्वजनिक सवारी बन्द नै राखी निजीमा जोर विजोर प्रणाली लागु गर्नुपर्ने सुझाव दिएका छन् ।