पाेखरा : अधिवक्ता रोहितराज बास्तोला गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त हुनुभएकाे छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले सोमबार उहाँलाई नियुक्त गर्नुभएकाे हाे ।
नेपालको संविधान २०७२ को धारा १६० अनुसार उहाँको नियुक्ति भएको हो । मुख्य न्यायाधिवक्ता प्रदेश सरकार र मुख्यमन्त्रीको मुख्य कानुनी सल्लाहकार हो । मुख्य न्यायाधिवक्ताको मर्यादाक्रम उच्च अदालतको न्यायाधीश समान हुन्छ ।
२५ वर्षदेखि कानुन व्यवसायमा क्रियाशील बास्तोला पोखरा ११ फूलबारीका स्थायी बासिन्दा हुनुहुन्छ । बास्तोला उच्च अदालत बार एसोसिएसन पोखराका पूर्व अध्यक्ष उहाँ डेमोक्रटिक लयर्स एसोसिएसन कास्की पूर्वअध्यक्ष समेत हुनुहुन्छ ।