दमाैली : तनहुँको व्यास नगरपालिकाले तीन वटा कार्यविधि पारित गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा मङ्गलबार बसेको कार्यपालिकाको बैठकले तीन कार्यविधि पारित गरेको हो ।
प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार व्यास नगरपालिका स्थानीय राजश्व परामर्श समितिको कार्य सञ्चालन कार्यविधि, २०७८, व्यास नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि, २०७८ र व्यास नगरपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य सञ्चालन कार्यविधि पारित भएको छ ।
बैठकले व्यास नगरपालिकामा हाल खरिद गरिएको दुई थान ठूलो ट्याक्टरलाई धान उत्पादनको पकेट क्षेत्रलाई सहयोग पुग्नेगरी सम्बन्धित वडाहरुले अनुगमन गर्ने गरी किसानहरुलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ ।
साथै विद्यालय व्यवस्थापन समितिको तदर्थ समितिमा सम्बन्धित विद्यालयको निवर्तमान अध्यक्षलाई अनिवार्य आमन्त्रित सदस्यको रुपमा राख्ने निर्णय समेत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।