नपत्याउदो खहरेले भत्कायो घर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नपत्याउदो खहरेले भत्कायो घर

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७८, शुक्रबार

    तनहुँ : धादिङका दिलबहादुर कुवँरको परिवार २०६६ सालमा बन्दीपुर गाउँपालिका–२ खहरेमा बसाई सरेर आए । थातथलो छाडेर आएको उहाँको परिवारले जिन्दगीभर ओत लाग्नलाई खहरेमा जस्ताले छाएको एकतले घर ठड्यायो । घरको गाह्रोमा लगाईएको हरेक ईट्टामा बालुवा सिमेन्टसँगै पसिनाको सुगन्ध पनि मिसाइयो ।

    घाम पानी ओत्ने मात्रै होइन, जीवनभरलाई आड भरोसा थियो घर । त्यही घर बुधबार राति २ बजे खहरे खोलामा उर्लेको बाढीले लढाएको छ । घरसँगै आड भरोसा पनि डग्मगाएको छ ।

    ‘खहरेमा पल्टदै आएको ढुंगाले अगाडीपट्टिको गाह्रो फुटायो । घरभित्र भएको सबै सामान बगाएर लग्दियो,’ कुवँरले भन्नुभयो, ‘एउटा ग्यास सिलिन्डर भन्दा अरु केही भेट्टिएन् ।’ अब कहाँ गएर ओत लाग्ने कुवँरलाई चिन्ता छ । ‘घर बनाउनलाई कतै जग्गा छैन्,’ उहाँले सुनाउनुभयो ।

    घर भत्किएपनि उहाँको परिवार सकुशल छन् । किनकी १७ असारमा बाढी आएपछि कुवँर परिवार कृषि फार्ममा बसेको थियो । खहरेमा यति ठूलो बाढी आउला र घर नै भत्काउला कसैले सोचेका थिएनन् । तर, ‘नपत्याउँदो खोलाले बगाउँछ’ भनेझै यही खहरेले उठिबास लगाएको छ । ‘हिउँदमा पानी पनि हुँदैन । बगरमा कमिला हिँड्छ,’ उहाँले भन्नुभयो, ‘वर्षामा पनि घरै भत्काउन सक्ने ठूलो हुन्थेन ।’

    बन्दीपुर–मुच्चुक–छाब्दी सडक खन्दाको असरले खहरेको बस्ती जोखिममा परेको उहाँ बताउनुहुन्छ । ‘पोहोर माथि मुच्चुकको बाटो खनेसी अलि अलि माटो खसेको थियो । ढुंगाहरु खसेको थिएन् । यसपाली फेरि त्यही ठाउँमा डोजर लाईदेसी माथिबाट झरिहाल्यो नी !’ सडक भन्दामाथि मुकुन्देश्वरी डाँडाबाटै पहिरो खसेको उहाँले बताउनुभयो ।

    बन्दीपुर–मुच्चुक–छाब्दी सडक विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) को पहलमा संघीय सरकारको बजेटमा खनिएको हो । दुई आर्थिक वर्षमा २÷२ करोड रुपैयाँका दरले विनियोजित बजेटले सडकको काम भएको बन्दीपुर गाउँपालिकाले जनाएको छ ।

    कुवँर परिवारलाई जस्तै यहाँका ४८ घरधुरीमा खहरेको बाढीले आतंक मच्याएको छ । हिउँदमा पानी थोपा नबग्ने खहरेमा १७ असार यता आएको बाढीले १३ घर भत्काएर पूर्ण क्षति भएको गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार ९ घरमा आंशिक क्षति हुँदा २६ घर उच्च जोखिममा छन् ।

    घरविहिन भएका स्थानीय शिशु स्याहार केन्द्र र आमा समूूहको भवनमा बस्दै आएका थिए । त्यहाँ पनि जोखिम भएपछि बटारमा रहेको देउराली आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाउन वडाध्यक्षलाई निर्देशन दिएको उपाध्यक्ष गुरुङले बताउनुभयो । ‘पालिकावासीको दुख टुलुटुलु हेरेर बस्न सक्दैनौ । गास बासको व्यवस्था गर्छौ,’ उपाध्यक्ष गुरुङले भन्नुभयो । बस्तीमा थप जोखिम हुन नदिनलाई डोजर लगाएर जम्मा भएको ग्रेगान हटाउने उहाँले जनाउनुभयो ।

    बुधबार रातिको बाढीले बन्दीपुरकै धारापानीमा १२, रामकोटमा ७ र कल्चोकमा ५ घर उच्च जोखिममा परका छन् । डुम्रे बन्दीपुर सडक अबरुद्ध भएको थियो । सडक बिहीबार दिउँसो खुलेको छ ।

    बाढीले घर पुर्ण क्षति भएकालाई ३० हजार रुपैयाँ र आशिंक क्षति भएकालाई १० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गाउँ कार्यपालिका बैठकले गरेको छ । बन्दीपुर गाउँपालिकाले यो बर्ष बाढी पहिरोको सामना गरिरहनु परेको छ । गत साता पनि वडा नम्बर ३ कै तामुङमा पहिरोमा परेर २ जनाको मृत्यु भएको थियो भने ३ जना घाईते भएका थिए ।