दुलेगौँडा : शहिद गिता मोटर मार्गको शुक्लागण्डकी नगरपालिका–७ टुँडा खण्ड कालोपत्रे गरिएको छ । शुक्लागण्डकी नगरपालिका, गण्डकी प्रदेश सरकार र स्थानीयकाे लागत साझेदारीमा दुईतर्फी नाला सहित ३ सय मिटर सडक कालोपत्रे गरिएको हो ।
कालोपत्रे सडकको गण्डकी प्रदेशसभा सदस्य आशा काेइरालाले उद्घाटन गरिन् । उनले विकासका लागि जनता एक हुनुपर्ने बताईन् । ‘आफ्नो गाउँ आफै राम्रो बनाउने भावना जागृत हुनुपर्छ । सरकारले पनि साथ दिन्छ’, उनले भनिन् ।
सडकको ट्रयाक खुलेको तीन दशकपछि सडक कालोपत्रे हुदाँ स्थानीय हर्षित छन् । २०४९ जेठ २ गते सडकको ट्रयाक खोलिएको स्थानीय हर्कबहादुर गुरुङले जानकारी दिए । ‘त्यतिबेला मिर्छुलुङ्गको बाटो खन्ने कुरा थियो । हामीले पनि यहाँ बाटो खन्न माग ग¥यौँ । मिर्छुलुङ्गको बाटो खन्न जाने डोजरलाई दुई दिन रोकेर यहाँको बाटो खन्न दिएपछि ट्रयाक खोलिएको थियो’, उनी सम्झन्छन् ।
तत्कालिन समयमा भिमाद हुदै तनहुँका दक्षिण क्षेत्र जाने मुख्य सडक नै यही थियो । अहिलेको तिम्लिसिना चोकबाट टुडाँ हुदै शान्तिनगर ‐स्याउली बजार) झरेर भिमाद जाने सडक ट्रयाक खोलिएको थियो ।
केही वर्ष यही सडक चल्यो । पछि फराकिलो बनाउँदा यहाँका थुप्रै घर भत्काउनुपर्ने अवस्था आएपछि सडक भिमादचोकबाट भोटेपानी हुदै शान्तिनगर डाइभर्ट गरिएको उनले बताए । ट्रयाक फेरिएपछि स्थानियको चासो नहुदाँ सडकको मुहार फेरिन निकै लामो समय लागेको गुरुङको भनाई छ । गुरुङले भने, ‘ढिलै भएपनि सडकको रुप फेरिएको छ ।’
गण्डकी प्रदेश सरकार, शुक्लागण्डकी नगरपालिका र स्थानियबासीको साझेदारीमा सडक कालोपत्रे गरेको वडाध्यक्ष रामबहादुर क्षेत्री थापाले जानकारी दिए । ४० लाख ६० हजार ३ सय ४७ रुपैयाँ सडक कालोपत्रेका लागी लगानी भएको उनले बताए । शुक्लागण्डकी नगरपालिकाले १७ लाख ५० हजार रुपैयाँ र गण्डकी प्रदेशसभा सदस्य आशा काेइरालाले पूर्वाधार विकास कार्यक्रम मार्फत ५ लाख रुपैयाँ बजेट उपलब्ध गराएकी थिईन् । स्थानीय उपभोक्ताले १८ लाख १० हजार ३ सय ४७ रुपैयाँ लागत साझेदारी व्यहोरेका छन् ।
वडाध्यक्ष क्षेत्रीका अनुसार ३ सय मिटर सडक कालेपत्रेसंगै ६ सय मिटर पक्की नाला बनाईएको छ । वडाले उपभोक्तासंगको साझेदारीमा सडक कालोपत्रेलाई प्राथमिकता दिएको उनले बताए ।
गत बर्षसम्म यो सडकको अवस्था बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे थियो ।
ट्रयाक खोलेको २९ बर्षमा घर दैलोको सडक चिल्लो भएपछि स्थानीयले राहतको महशुस गरेका छन् । तर, टुँडाको प्रवेशद्धार खैरेनीटार साना सहरी खानेपानी आयोजनाको ट्यांकीबाट झण्डै ५ सय मिटर सडकको अवस्था कन्तविजोेग देखिन्छ । यो खण्ड पनि छिट्टै कालोपत्रे गर्न स्थानियको माग छ ।
सडक निर्माण उपभोक्ता समितका अध्यक्ष शिव पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य गिरबहादुर थापा, नेकपा एमालेका शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्लिसिना, नेपाली कांग्रेसका ईश्वर शर्मा, नेकपा माओवादी केन्द्रका गोपिकृष्ण तिवारी, शिव टोल बिकास संस्थाका अध्यक्ष गम्भिरसिंह गुरुङ, निरु भुजेल लगायतले बोलेका थिए ।