दुलेगौँडा : भिमाद नगरपालिका–९ थामडाँडाका विपन्न दलित समुदायले सुंगुर पालन शुरु गरेका छन् । आर्थिक स्तर उकास्ने उदेश्यले यहाँ कालो सुंगुर पालन शुरु गरिएको हो । यहाँका १९ घरधुरीले सुंगुर पालनका लागि समूह बनाएका छन् । समूहमा आबद्ध हरेक घरधुरीले २ वटाका दरले सुंगुर पाल्न शुरु गरेका हुन् ।
‘सम्बृद्ध जीवन, सुनौलो कृषि अभियान’ अन्तर्गत कालो सुंगुर पालनका लागि वडा कार्यालयले सघाएको छ । सुंगुरको खोर निर्माण र बच्चा खरिदका लागि वडाले अनुदान उपलब्ध गराएको वडाध्यक्ष ईमानबहादुर थापाले जानकारी दिए । उनका अनुसार वडाले थामडाँडाको समूहलाई ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।
‘परम्परागत तरिकाले पशुपालन गरिरहेका किसानलाई व्यावसायिक बनाउने वडाको योजना छ’, उनले भने, ‘किसानका माग अनुसार वडाले पशुपंक्षी पालनमा सघाउनेछ ।’ वडालाई पशुपंक्षी पालनमा नमुना र आत्मनिर्भर बनाउने लक्ष्य रेहको वडाध्यक्ष थापा बताउँछन् । थामडाँडाको किसानलाई भिमाद नगरपालिका पशु शाखाले सुंगुर पालन गर्न तीन दिनको आधारभूत तालिम समेत दिएको थियो ।
कालो सुंगुर पालनलाई व्यावसायिक बनाएर नमुना गाउँ बनाउने स्थानीयले प्रण गरेका छन् । दैनिक ज्याला मजदुरी, वैदेशिक रोजगारीमा भर परेका गाउँले परम्परागत कृषि र पशुपालन गर्दै आएको स्थानीय जितबहादुर विकले बताए । ‘आर्थिक हिसाबले पछाडी छौँ । सुंगुरपालनलाई व्यावसायिक बनाएर आत्मनिर्भर बन्ने उदेश्य छ.’ उनले भने । २ वटा बंगुर पालनबाट शुरु गरेको व्यवसायलाई बढाउदै लैजानले उनले जनाए । कालो सुंगुरको बजारमा माग भएको कारण बजारीकरणमा समस्या नहुने उनी बताउँछन् ।
‘सम्बृद्ध जीवन, सुनौलो कृषि अभियान’ अन्तरगत भिमाद–९ को सखेपमा कुखरापालन, मोहोरियामा बंगुर र बाख्रापालन, कटनछापमा बाख्रापालन, असपाक्दी भाटडाँडामा मौरी पालन शुरु गरिएको छ । किसान र वडाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेका छन् ।
हरेक वर्ष यो अभियानले निरन्तरता पाउने वडाध्यक्ष थापा बताउँछन् । ‘पहिलो वर्ष पूर्वाधार निर्माण र पशुपंक्षी खरिदमा सघाउँछौ । दोस्रो वर्षबाट बजारीकरण र प्राविधिक ज्ञानमा हाम्रो जोड हुन्छ,’ उनले भने । बाख्रा, कुखुरा, सुंगुर, बंगुर, मौरी पालन र सुन्तला खेतीका लागि वडा उपयुक्त रहेको वडाध्यक्ष थापाले बताए ।