अबको डेढ वर्षपछि सानदार रुपमा फेरि विजयी हुन्छु : किसान श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अबको डेढ वर्षपछि सानदार रुपमा फेरि विजयी हुन्छु : किसान श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०७८, मंगलवार

    तनहुँ : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर चर्चामा आउनुभएका तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले डेढ वर्षपछि पुन: सांसद निर्वाचित हुने बताएका छन् । हिमालय टिभीसँग मङ्गलबार बिहान कुरा गर्दै सांसद श्रेष्ठले तनहुँ जिल्लाको विकासमा आफूले धेरै काम गरेको भन्दै सानदार रुपमा पुन: सांसदमा विजयी हुने बताए ।

    २०४८ सालदेखि एमालेको नजितेको ठाउँमा एमालेको सङ्गठन र माओवादीको समर्थनले २०७४ साल मङ्सिर २१ गतेको निर्वाचनमा विजयी भएको उल्लेख गर्दै उनले भने, “फेरि पनि सानका साथ विजयी हुन्छु ।”

    शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि कतिपयले काङ्ग्रेसमा प्रवेश गरे हुन्छ भनेको बताउँदै उनले आफू नेकपा एमालेमै रहने प्रष्ट पारे । “पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको जानकारीमा आएको छ, म स्पष्टीकरण दिन्छु,” उनले भने, “घरभित्र पस्नै दिएनन् भने बेग्लै कुरा ।”

    पार्टी अझै पनि मिल्नेमा आफू विश्वस्त रहेको भन्दै श्रेष्ठले माधव नेपाल समूहको टिमको सरसल्लाहमा अघि बढ्ने बताए । “माधव नेपालको पछि लागेर विश्वासको मत दिएपछि म अब उहॉको टिमको भएँ,” उनले भने । उनले पार्टीमा यो अवस्था आउनुमा अध्यक्ष केपी ओली बढी जिम्मेवार रहेको बताए । “दुवै पक्षबाट कमजोरी भएको छ, तर घरमूलीले सबैलाई मिलाएर जानुपर्छ,” उनले भने ।

    विगतमा आफू केपी ओलीकै पक्षको भएपनि सर्वोच्चको फैसलाको सम्मान र तनहुँका जनताको मतको कदर गर्न विश्वासको मत दिने निष्कर्षमा पुगेको उनले बताए । “मेरो यो कदमलाई ठिक बेठीक भन्ने पनि छन्, कतिपयले जिल्ला आउँलास् भनेको पनि सुनेँ, केही दिनमा सानका साथ जिल्ला जान्छु,” उनले भने ।