तनहुँ : तनहुँमा मंगलबार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५६ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा व्यास नगरपालिका–४ की ५१ वर्षीया महिला रहेकी छन् ।
उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । मृतक महिलालाई साउन २३ मा कोरोना पुष्टि भएको थियो । योसँगै तनहुँमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय २५ पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
सोमबारको तुलनामा मंगलबार तनहुँमा संक्रमित ह्वात्तै बढेका हुन् । सोमबार जिल्लामा ६ जना मात्रै संक्रमित थपिएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार मंगलबार १ सय ५६ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
तनहुँमा हालसम्म कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३२ रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । ५ हजार ६ सय ८० ले कोरोना जित्न सफल हुदाँ ४ सय २७ जना सक्रिय संक्रमित छन् ।
यस्तै, गण्डकी प्रदेशभर पछिल्लो २४ घण्टामा ५ सय ४५ संक्रमित थपिएका छन् ।
१ हजार २ सय ६८ जनाको कोरोना परीक्षण गरिएको थियो । मंगलबार थपिएका संक्रमित सहित हालसम्म ७६ हजार ८ सय ८७ जनालाई कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्याङ्कले पुष्टी गर्दछ । ६९ हजार ६ सय ६० जनाले कोरोना जित्दा सक्रिय संक्रमितको संख्या ६ हजार २१ रहेको छ । तीमध्ये २ हजार ८ सय १५ होम आईसोलेसनमा छन् ।
मंगलबार तनहुँ, स्याङजा, कास्की र नवलपुरका १÷१ जना सक्रिय संक्रमितको मृत्यु भएको छ । योसंगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६ पुगेको छ ।