दमाैली : दमौली अस्पताल व्यवस्थापन समितिमा नियुक्त हुँदै गर्दा प्रदीपराज अधिकारीको अगाडी दुई चुनौति थिए । पहिलो, अस्पतालको आन्तरिक व्यवस्थापन र दोस्रो स्तरोन्नति । अस्पताल व्यवस्थापन समितिको पदभार ग्रहण गर्दै अधिकारीले यी दुवै कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाएका थिए ।
अस्पतालको सुधार र आन्तरिक व्यवस्थापनको काम पूरा गरेका अधिकारीले स्तरोन्नतिको काम भने आफ्नो पालामै पूरा गर्न सकेनन् । कानूनको अड्चन र विविध कारणले अस्पताल स्तरोन्नति गर्ने उनको चाहनाले मूर्त रुप लिन सकेन । यद्यपि अस्पतालको स्तरोन्नतिका लागि थुप्रै प्रयास भएका थिए ।
“जग्गा व्यवस्थापन मुख्य समस्या रह्यो,” तीन वर्षे कार्यकाल सकिएर विदाई हुँदै गर्दा शुक्रबार अधिकारीले भने, “सबै पहल गर्दा पनि अस्पताल स्तरोन्नति गर्न सकिएन ।” समितिको नेतृत्वमा नरहेपनि आगामी दिनमा पनि अस्पतालको स्तरोन्नतिका लागि पहल जारी राख्ने अधिकारीले प्रतिबद्धता जनाए ।
उनका अनुसार अस्पतालको आन्तरिक व्यवस्थापनमा थुप्रै सुधारका काम भएका छन् । अस्पतालमा अत्याधुनिक ल्याव, आइसियु भेन्टिलेटर, डिजिटल एक्सरे सेवा आफ्नै कार्यकालमा सञ्चालनमा आएको अधिकारीले बताए । “यो काम म एक्लैले गर्दा मात्र होइन, सबैको सामूहिक प्रयासबाट सम्भव भएको हो,” उनले भने, “अधिकांश प्रतिबद्धता पूरा गर्न सफल भएका छौ ।”
तर यसबीचमा केही काम पूरा गर्न नसकेकामा भने दुःख लागेको अधिकारीले बताए । एम्बुलेन्स सेवा, शववाहन सेवा बजेट हुँदा पनि ल्याउन नसकिएको उनले बताए । “एम्बुलेन्स ल्याउनका लागि सम्झौता भएको व्यवसायीलाई पैसा हालिदियौ, तर खाता नम्बर अर्कै दिएपछि समयमा एम्बुलेन्स आउन सकेन, बजेट फ्रिज भयो,” उनले भने ।
अधिकारी नेतृत्वको कार्यकालमा अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्स सहितको भवन निर्माण, आँखा विशेषज्ञ सहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, गाइनोलोष्टिबाट सेवा सञ्चालन, भेन्टिलेटर सहित आईसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्ष लगायतका सेवा विस्तार गरिएको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।
अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायोलिसस सेवा समेत प्रदान गर्दै आइरहेको छ । विसं २०३४ सालमा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।
अस्पताल विश्वासगर्न लायक बनेको छ : समन्वय प्रमुख वाग्ले
अस्पतालका पदाधिकारीलाई विदाई गर्न आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले दमौली अस्पताल विश्वास गर्न लायक बनेको बताए । “दमौली अस्पतालका सेवाहरु सुधार भएका छन्, त्यो तथ्यले पुष्टि गरेको छ,” उनले भने, “समितिको सक्रियताका कारण त्यो सम्भव भयो ।” कोभिड महामारीका बेला अस्पतालले निकै उदाहरणीय काम गरेको वाग्लेको भनाई थियो ।
व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले अस्पतालले तीन वर्षको अवधिमा सकारात्मक सुधारका काम गरेको भन्दै समितिलाई धन्यवाद व्यक्त गरिन् ।
कार्यक्रममा समितिका सदस्यहरु नरेन्द्र ढकाल, इमकुमार मल्ल, सीता पाण्डे, सिर्जना सिग्देल लगायतलाई प्रशंसापत्र प्रदान गरिएकाे थियाे ।