पोखरा : गण्डकी प्रदेशमा डोबाटे विक पनि मन्त्री बन्ने भएका छन् । यसअघि उनलाई अन्तिम समयमा सूचीबाट हटाएर विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो । विकलाई अन्तिम समयमा हटाएर व्यवसायीक थापालाई मन्त्री बनाएको भन्दै कांग्रेसको आलोचना भएको थियो ।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पोखरा भएको बेला गण्डकी प्रदेशका नेताहरुसँग छलफल गरेर विकलाई पनि मन्त्री बनाउने सहमति गरेको स्रोतले जनायो ।
‘विकलाई तत्कालका लागि विनाविभागीय मन्त्री बनाउने र पछि जिम्मेवारी तोक्ने सहमति भएको छ,’ स्रोतले भन्यो ।
डोबाटेलाई मन्त्री बनाउने विषयमा केही दिनअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले र देउवासँग काठमाडौंमा छलफल गरेका थिए । देउवा अहिले पोखरा हुँदा उनलाई मन्त्री बनाउने पक्का भएको हो ।
गृह मन्त्रालय अहिले मुख्यमन्त्री आफैंले राखेका छन् । गृह वा भौतिक पाउने गरी आफूलाई जिम्मेवारी दिन थापाले देउवालाई आग्रह गरेका छन् । तर, भौतिक मन्त्री कुमार खड्का यसमा सहमत छैनन् ।
यही विषयमा देउवाले खड्का र थापालाई राष्ट्र बैंक चोकस्थित अतिथि गृहमा बोलाएर छलफल गरेका थिए । सो क्रममा देउवासँग खड्काले थापासँग आफ्नो कुनै प्रतिस्पर्धा नरहेको र सरकार गठन हुँदा जसपालाई समेत आफूले मिलाएको बताएका थिए ।
विक मन्त्री बनेपछि गण्डकी प्रदेशको मन्त्रिपरिषद १२ सदस्यीय बन्ने छ । ६० सदस्यीय प्रदेश सभामा १२ मन्त्रालय बनाउन सकिने संवैधानिक व्यवस्था छ । ७ मन्त्रालय रहेको गण्डकीमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ पुर्याउने ओएनएम गरेका थिए ।