दुलेगाैडा : दशैँको मुखैमा गोलभेडाको मुल्य ह्वात्तै बढ्यो । अधिकांशको भान्छामा प्रयोग हुने गोलभेडाको मुल्य दशैँको बेलामा बढ्दा उपभोक्ताको ढाड सेकाएको छ । तनहुँका बजारमा ४० रुपैयाँ प्रतिकिलो किनबेच भईरहेको गोलभेडाको मूल्य एक्कासी बढेर १४० रुपैयाँमा पुग्दा उपभोक्ता मारमा छन् । बजारमा बढेको गोलभेडाको भाउले साना किसानलाई भने फाईदा पु¥याएको छ । बजार नपाएर कुहाएर फाल्नुपर्ने गोलभेडा विचौलिया बिना किसानले लगाएको टनेलमै किन्न उपभोक्ताको खोसाखोस भईरहेको छ ।
विचौलिया बिना टनेलबाटै १०० रुपैयाँ प्रतिकिलो गोलभेडा विक्री भईरहेको शुक्लागण्डकी नगरपालिका–१० मलागिरीका किसान सुरेन्द्र वाग्लेले बताए । ‘पहिला २५ रुपैयाँ प्रतिकिलो विक्री हुन मुस्किल थियो । बजारमा दशैँको बेला भाउ बढ्यो । अहिले टनेलबाटै खोसाखोस भईरहेको छ’, उनले भने ।
बजारमा मुल्य बढ्दा गाउँमै माग धेरै भएको वाग्लेले बताए । ‘बजारबाट पनि माग छ । उत्पादन भएको सबै गाउँमै बिक्छ, पु¥याउन सक्ने अवस्था छैन्’, उनले भने । दशैँमा टिका थाप्न गाउँ आएका बजारियाले फर्कने बेलामा गाउँको टनेलबाट ताजा गेलभेडा कोशेली लिएर फर्कने गरेका छन् । बजारमा गोलभेडा सस्तो हुदाँ गाउँमा विक्न मुस्किल हुने उनले बताए । यसपाली विचौलिया बिना विक्री हुदाँ आफुले उचित मुल्य पाएको उनले जनाए । टनेलमै आएर किनबेच हुदाँ किसान र उपभोक्ता दुवैलाई फाईदा पुगेको वाग्लेको भनाई छ ।
टनेलबाट प्रतिकिलो ८० रुपैयाँदेखी १०० रुपैयाँसम्म धमाधम विक्री भईरहेको चापस्वाँराका किसान ईन्द्र आले बताउँछन् । अहिले पाएको मुल्यले किसानलाई राहात पु¥याएको उनको भनाई छ । ‘यसरी मेहनत अनुसारको मुल्य पाउँदा किसानलाई निरन्तरता दिन हौसला मिल्छ । लगानीको प्रतिफल पाएपछि लगनशील समेत बनाउँछ’, उनले अगाडी थप्दै भने, ‘यो समयमा परिश्रम अनुसारको फल पाईएको छ । विगतका बर्षमा निकै सस्तोमा बेच्नु परेको थियो । टनेलबाट विक्री नहुदाँ व्यापारीलाई कम मुल्यमा दिदाँ लगानी उठ्दैन्थ्यो ।’
बजारबाट तरकारी व्यापारीले ठुलो परिणाममा गोलभेडा मागेपनि टनेलबाटै खुद्रा विक्री भएपछि नदिएको उनले बताए । यही मुल्य कायम रहे यसपाली गोलभेडा खेती गरेका किसानले मनग्य आम्दानी गर्ने उनको भनाई छ ।
गोलभेडाको उत्पादन कम हुदाँ दशैँको बेला मुल्य ह्वात्तै बढेको तरकारी व्यवसायी रामनन्द चौधरीले बताए । उनका अनुसार यो सिजनमा तनहुँमा गोलभेडा भारतसँगै काठमाडौँ र धादिङबाट ल्याईन्छ । ‘मंहगो भएपछि यतिबेला भारतको गोलभेडा ल्याईएको छैन् । काठमाडौँको मात्रै बजारमा आएको थियो । त्यसैले मंहगो भयो । अब धादिङमा पनि उत्पादन सुरु भएको छ । बजारमा आउन थालिसक्यो, विस्तारै मुल्य घट्दै जानेछ’, उनले भने ।
अरु बेला भारतीय गोलभेडा सस्तो मुल्यमा बजारमा छ्यापछ्याप्ती हुदाँ किसानले मेहनत अनुसारको मुल्य नपाएको गुनासो गर्दथे । तर, अहिले टनेलबाटै खोसाखोस हुन थालेपछि किसान दंग छन् । गोलभेडा खेती गर्ने किसानलाई स्थानीय सरकारले अनुदान दिन थालेपछि गाउँ–गाउँमा टनेल थपिएका छन् ।