एजेन्सी : स्पेनिस ला लिगाको क्बल बार्सिलोनाले बिहीबार सेर्गी बार्जुआनलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ । बार्जुआनले यसअघि बार्सिलोनाकै ‘बी’ टोली सम्हाल्दै आएका थिए ।
बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले बिहीबारको ‘ट्रेनिङ सेसन’ अघि बार्जुआनलाई अन्तरिम प्रशिक्षकका रूपमा सार्वजनिक गरेका हुन् । बार्जुआनले आजै मिडियासँग कुराकानी गर्ने बार्सिलोनाले जनाएको छ । आल्भेसविरुद्धको खेलका विषयमा कुराकानी हुने उक्त पत्रकार सम्मेलनमा अध्यक्ष लापोर्टा पनि उपस्थित हुनेछन् ।
बार्सिलाना ‘बी’का प्रशिक्षक बार्जुआनलाई सिनियर टोलीको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ । उनको अन्तरिम काल अर्को पूर्णकालीन मुख्य प्रशिक्षक नियुक्त नहुदाँसम्म रहनेछ,” बार्सिलोनाको आधिकारिक वेबसाइटमा लेखिएको छ ।
गएराति स्पेनिस ला लिगामा रायो भालेकानोसँग १–० ले पराजित भएपछि क्याटलान क्लब बार्सिलोनाले रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको थियो ।
रायो भालेकानोसँग पराजित हुनुअघि बार्सिलोना एल क्लासिकोमा घरेलु मैदानमै रियाल मड्रिडसँग २–१ ले हारेको थियो ।
२१ वर्षपछि लियोनल मेसीविना खेलेको बार्सिलोनाले जारी सिजनमा निरन्तर खराब प्रदर्शन गरिरहेको छ । बार्सिलोना जारी सिजन १० खेलबाट १५ अङ्क जोडेर लिगको नवौँ स्थानमा छ । बार्सिलोना सिजनको सुरुमै च्याम्पियन्स लिगमा जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग घरेलु मैदानमा ३–० ले पराजित भएको थियो । बार्सिलोना च्याम्पियन्स लिगकै लागि पोर्चुगल भ्रमणमा बेनफिकासँग पनि ३–० ले नै हारेको थियो ।
रायो भालेकानोसँग हारेसँगै बार्सिलोना लगातार पाँच अवे खेलमा जितविहीन बन्यो । जुन बार्सिलोना दुई दशकको इतिहासमा यो पहिलोपटक हो । बार्सिलोनाले जारी सिजन पाँच खेलमात्र जितेको छ भने तीन खेल बराबरी खेलेको छ । बाँकी खेलमा पराजित भएको छ ।