कोभिडपछि बन्दिपुरमा पहिलो पटक विदेशी पर्यटकको आगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोभिडपछि बन्दिपुरमा पहिलो पटक विदेशी पर्यटकको आगमन

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७८, शुक्रबार

    दमौली : कोभिड–१९ पछि तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा पहिलो पटक विदेशी पर्यटकको आगमन सुरु भएको छ । कोरोना कहरका कारण विगत करिब दुई वर्षदेखि विदेशी पर्यटक आगमन शुन्य रहेको बन्दिपुरमा बुधबार ६० जना विदेशी पर्यटक आइपुगेका हुन् ।

    बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसान प्रधानले विदेशी पर्यटकको आगमनले व्यवसायीलाई उत्साहित बनाएको बताए । “कोरोना कहरपछि आन्तरिक पर्यटक आइरहेकामा विदेशी पर्यटक शुन्य थिए, अब विदेशी पर्यटकको पनि आगमन हुनेमा आशावादी छौ,” उनले भने ।

    दसैंको सुरुवातसँगै बन्दिपुरमा आन्तरिक पर्यटकको चहलपहल पनि बाक्लिएको छ । कोरोना कहर न्यूनीकरण हुँदै जनजीवन सामान्य भएपछि बन्दिपुरमा यतिबेला पर्यटकको चहलपहल बढेको प्रधानले बताए । “दसैंका बेला बन्दिपुरमा राम्रै सङ्ख्यामा पर्यटक भित्रिए, तिहारमा पनि पर्यटकको आगमन बढ्नेमा विश्वस्त छौ,” प्रधानले भने, “विस्तारै पर्यटकीय गतिविधि बढेपछि व्यवसायीलाई पनि आशा जगाएको छ ।”

    चिसो मौसम सुरु भएसँगै बन्दिपुरबाट हिमालका मनोरम दृश्य देखिन थालेको छ । हिमाल खुलेको बेला यहाँबाट हिमालका मनमोहक दृश्य देखिन्छ । सबैले कोभिड विरुद्ध खोप लगाएकाले पनि अहिले घुमफिरमा निस्कनेको सङ्ख्या बढिरहेको छ । “बन्दिपुरका ७० प्रतिशत भन्दा बढी व्यवसायीले खोप लगाइसके, सर्वसाधारणले पनि खोप लगाइरहेका छन्,” प्रधानले भने, “खोपले पनि हामीलाई ढुक्क बनाएको छ ।”

    बन्दिपुरका होटल व्यवसायीले छुट प्याकेज समेत ल्याउने तयारी गरेका छन् । बन्दिपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ ।

    बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

    कोलाहल, धुँवाधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई बन्दीपुर उत्कृष्ट गन्तव्यको रुपमा विकास भइरहेको छ । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । १८ औं शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवारहरुले भक्तपुरे शैलीमा घर र ढुङ्गा बिछ्याइएको बाटो निर्माण गरेका थिए । बन्दीपुरमा अहिले पनि घर निर्माणमा मौलिकता अपनाउने गरिएको छ । बन्दीपुर बजारमा भएका पुरानो घरहरुको आकर्षणले गर्दा पर्यटकको आगमन बढ्दै गएकाले गाउँपालिकाले बजार क्षेत्रभित्र आधुनिक र पश्चिमेली शैली झल्किने गरी घर बनाउने निषेध गरेको छ ।