नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०७८, बुधबार

    दमौली : तनहुँको दमौलीमा दश करोडको लागतमा नमूना भेटेरीनरी अस्पताल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको प्राङ्गणमा अस्पताल भवन निर्माण शुरु भएको हो ।

    गुणस्तरीय पशु चिकित्सा सेवा उपलब्ध गराउने उद्देश्य सहित नमूना अस्पताल निर्माण थालिएको केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए । “विज्ञ केन्द्रबाट हाल सामान्य मात्रै चिकित्सा सेवा उपलब्ध भइरहेकामा अस्पतालको भवन निर्माणसँगै थप सेवाहरु प्रदान गरिनेछ,” डा. श्रेष्ठले भने ।

    चालु आर्थिक वर्षमा भवन निर्माणका लागि करिब रु पाँच करोड बजेट विनियोजन भएको छ । भवनको लागत रु दश करोड रहेपनि यस वर्ष रु चार करोड ९० लाख ८३ हजार छ सय ७९ को काम हुनेछ । त्यसका लागि चितवनस्थित इकोविल्डर्स प्रालिसँग सम्झौता गरिएको छ । जसअनुसार १८ महिनाभित्र भवन निर्माण सम्पन्न गरिनेछ ।

    ६०५ वर्गमिटर क्षेत्रफलमा साढे दुई तल्लाको भवन निर्माण हुनेछ । त्यसमा दुई प्रयोगशाला र २३ कोठा रहनेछन् । “पशुपंक्षीको उपचार उच्च प्रविधिबाट गर्न प्रयोगशाला पनि सञ्चालन गर्छौ,” उनले भने, “अस्पताल भवन निर्माणसम्पन्न सँगै तनहुँका अतिरिक्त छिमेकी पालिकाका कृषकले पनि सेवा पाउनेछन् ।”

    अस्पताल भवनमा आकस्मिक, शल्यक्रिया, एक्सरे, रेडियोलोजी, प्याथोलोजी, गाइनोकोलोजी, पोष्टमार्टम, फार्मेसी, प्रयोगशाला, रेडियोलोजिकल प्रयोगशाला लगायतको सुविधा हुनेछ । जसका लागि छुट्टाछुट्टै कक्ष निर्माण गरिनेछ । “अहिले पनि पशुपंक्षीको उपचार भइरहेको छ, तर यो अस्पताल बनेपछि विशिष्ट सेवा प्रदान हुनेछ,” डा. श्रेष्ठले भने ।

    तनहुँमा पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै जाँदा सुविधासम्पन्न अस्पतालको खाँचो औंल्याइएको थियो । भेटेरीनरी अस्पताल निर्माण सुरु भएसँगै पशुपालक कृषक पनि हर्षित भएका छन् ।