श्रम महत्वपूर्ण मन्त्रालय हो, गरिब नेपालीले अनुभूति गर्ने गरी काम गर्छौ : मन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    श्रम महत्वपूर्ण मन्त्रालय हो, गरिब नेपालीले अनुभूति गर्ने गरी काम गर्छौ : मन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७८, आईतवार

    दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले गरिब नेपालीले अनुभूति गर्ने गरी सरकारले काम गर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–३ स्थित सिन्धु गुठी सेवा समाजले आइतबार आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले श्रम मन्त्रालय महत्वपूर्ण मन्त्रालय रहेकाले नेपाली जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

    “श्रम मन्त्रालय सिङ्गो मुलुक धानेको मन्त्रालय हो, विदेशमा श्रम गरेर नेपालीले पठाएको रेमिट्यान्सले मुलुक चलेको छ,” श्रममन्त्री श्रेष्ठले भने, “यो मन्त्रालयको ठूलो काम र जिम्मेवारी छ, जनतालाई अनुभूत गराउँछौ ।” सिन्धु गुठी सेवा समाज र समग्र तनहुँ जिल्लाकै इज्जत राख्ने गरी काम गर्ने बताउँदै मन्त्री श्रेष्ठले गुठीको इज्जतमा कुनै कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे।

    मन्त्री श्रेष्ठले मादी नदीको कटानले भतेरी र सदरमुकाम दमौली जोखिममा परेकाले यसको संरक्षणका लागि पहल गर्ने बताए । “मादीको कटानले वर्षेनी भतेरी र सदरमुकाम नै जोखिममा परेको छ, सानोतिनो बजेटले यसको संरक्षण सम्भव छैन, ठूलो बजेट चाहिन्छ,” उनले भने “वृहत बजेट विनियोजन गरेर यसको संरक्षणका लागि पहल गर्छु ।”

    कार्यक्रममा प्रतिनिधि सभा सदस्य कलिला खान, नेकपा एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठले नेवार समुदायको धर्म, संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए। व्यास नगरपालिका–३ का वडाध्यक्ष प्रेमकुमार श्रेष्ठले मादीको कटानले दमौली जोखिममा परेकाले यसको संरक्षणका लागि मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शङ्करनारायण श्रेष्ठले नेवार समुदायले नेपालको संस्कृति र रीतिरिवाज जोगाइदिएको बताए ।

    व्यास नगरपालिकाका पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठले नेवार समुदायको छोरा मन्त्रीमा नियुक्त भएकामा सबै तनहुँवासी हर्षित भएको बताए । गुठी सेवा समाजका अध्यक्ष शङ्करकुमार श्रेष्ठले गुठीमा आबद्ध सदस्य सङ्घीय सरकारको मन्त्री हुँदा आफूहरु खुसी भएको बताए ।