छियाछिया मोटरमार्ग, यात्रुलाई सास्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    छियाछिया मोटरमार्ग, यात्रुलाई सास्ती

    खबरपुञ्ज संवाददाता

    २२ कार्तिक २०७८, मंगलवार

    दुलेगौडा : गएको असार साउनमा वर्षासँगै आएको बाढी पहिरोले ढोरवाराही मोटरमार्गको सडक छियाछिया बनाएको छ । दुलेगौडादेखि साँखेसम्मको ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको सडक समयमा मर्मत सम्भार नहुँदा कष्टकर जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु ।

    तनहुँलाई स्याङजा जिल्लाको ग्रामीण भेगसँग जोड्ने प्रमुख सडक हो यो । दुलेगौँडा बजारदेखि स्याङजाको हरिनास गाउँपालिका, विरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका ग्रामीण भेगमा यहीँ मोटरमार्ग भएर सवारी साधन आउजाउ गर्छन् । शुक्लागण्डकी नगरपालिकाको ढोरफिर्दी, राईपुर र फिरफिरेका गाउँगाउँका सर्वसाधारणले सवारी यात्रा गर्ने सडक हो ।

    गाउँगाउँ पुग्ने प्रमुख सडकको दुलेगौँडा बजारबाट नजिकै पुल्चोकदेखि सुरु भएको पहिरो गाउँ–गाउँसम्म छ । साँघुरो सडक त्यै माथि पहिरोले ठाउँठाउँमा भत्किदा कालोपत्रे सडकमा पनि कष्टकरपुर्ण यात्रा गर्नुपरेको यात्रुहरुको गुनासो छ । बाढी पहिरोले सडक भत्किएको मात्रै छैन्, कतै नाला पुरिएका छन् । खोल्साखोल्सीबाट बगेर आउने पानीको उचित निकास नहुदाँ सडकमै पोखरी बनेको छ । सडकको बिचमा दुर्घटनाको पासो थापे जस्तै खाल्डाखुल्डी छन् ।

    स्वास्थ्य उपचार होस् या किनमेल । स्थानीय कृषि उपजलाई विक्रि वितरण गर्न पनि बजार पुग्नैपर्छ । तर सडकका सबै अवरोध छिचोलेर गाउँबाट बजार पुग्न निकै कष्टकर हुने यात्रु कमला पोखरेल बताउँछिन् । ‘अफ्ठ्यारो सडकमा यात्रा गर्दा समयमा पुग्न सकिदैँन् । जोखिम पनि छ’, उनले भनिन् । बेलाबेलामा सडकको नाला सरसफाई र मर्मतसम्भार भईरहे सडकमा कम क्षति हुने उनको भनाई छ । ‘बाटो खनिन्छ मात्रै स्तरोन्नती हुदैँन् । खन्ने बजेट पार्ने, मर्मत स्तरोन्नती गर्ने काम नहुने चलन छ’, उनले भनिन् । सडक कालोपत्रे भएपछि मर्मत सम्भारमा ध्यान नपुगेको उनले बताईन् ।

    कन्तविजोग अवस्थामा रहेको सडकमा भगवान पुकार्दै सवारी चलाउनु परेको सवारी चालक राम वस्याल बताउँछन् । सडकसँगै नालाको मर्मत र सरसफाईमा चासो नदिदाँ ज्यानको बाजी लगाएर सवारी चलाउनु परेको उनले बताए ।

    ढोरबाराही मोटरमार्ग हुदैं ज्याग्दी करिडोरबाट लुम्बिनी प्रदेशसँग गण्डकी प्रदेशलाई जोड्ने भएकाले यो केन्द्रीय महत्वको सडक हो । तर केन्द्र, प्रदेश र स्थानीय सरकार बिच समन्वय नहुदाँ भत्किएको सडक अलपत्र छ । समयमै मर्मत हुन सकेको छैन् ।

    यो सडकका लागि गत आर्थिक वर्षमा सडक बोर्ड अन्र्तगत ६४ लाख रुपैयाँ बजेट आएको थियो । उक्त रकमले सडक मर्मतका लागि टेन्डर आह्वान गरी ठेक्का सम्झौता भईसकेको शुक्लागण्डकी नगरपालिका–१० का वडाध्यक्ष रामचन्द्र भण्डारी बताउँछन् । ‘निर्माण कम्पनीले एकपटक कार्यस्थलको निरीक्षण गरिसकेको छ । अब छिट्टै काम सुरु गर्छ होला’, उनले भने ।

    प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन नगर्दा स्थानीय सरकारको बजेट पर्याप्त नदेखिएको वडाध्यक्ष भण्डारीको भनाई छ । ‘वडाले नगरले एउटै सडकलाई ठुलो रकम विनियोजन गर्न सक्ने अवस्था छैन् । नगरले आफु सक्दो गरेको छ । प्रदेश र केन्द्र सरकारको ध्यान जान जरुरी देखिन्छ’, उनले भने ।

    नगरपालिकाले सडक मर्मत गर्न विनु कन्ट्रक्सन प्राली कास्कीलाई ठेक्का दिएको छ । गत १८ साउनमा ४५ लाख ४१ हजार ९ सय ९९ रुपैयाँमा ठेक्का सम्झौता भएको नगरपालिकाका ईञ्जिनियर तारापती भट्टराईले जानकारी दिए । ठेक्का अन्तर्गत ढोरवाराही खोलामा स्ल्याब कल्भर्ट निर्माण हुनेछ । भट्टराईका अनुसार भत्किएको कालोपत्रे सडक मर्मत र ग्याविन नाला निर्माण पनि गरिनेछ । यही कात्तिक मसान्तसम्म काम सक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर कात्तिकको दोस्रो सातासम्म जिम्मा लिएको निर्माण कम्पनीले काम गरेको छैन ।