दुलेगौँडा : शान्ता विकले गएको १६ भदौमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दोस्रो सन्तान छोरा जन्माईन् । २३ वर्षीया शान्ताले सन्तान प्राप्तिको खुशी साट्न नपाउदैँ छोरा बिरामी भए । जन्मिएको भोलिपल्टै भिडियो एक्सरे गर्दा पिसाव नली साँघुरो भएर एकातिरको मृगौला सुन्निएको चिकित्सकले सुनाए ।
दैलेखको ठाटीकाँध गाउँपालिका–४ गैरागाउँ घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडामा डेरा गरी बस्दै आएकी शान्ता र श्रीमान तपेन्द्रले छोराको उपचारमा करिब एक लाख रुपैयाँ खर्च गरे । घर निर्माणमा ज्याला मजदुरी गर्ने तपेन्द्रले आफूसँग रकम नभएपछि २ महिने बिरामी प्रशान्तको उपचार गराउन सकेका छैनन् ।
सुत्केरी शान्ता दुई महिने बिरामी सन्तान काखमा च्यापेर डेरामै पिरोलिएर बस्न बाध्य छिन् । डेढ महिनामा छोरालाई फेरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर चेकजाँच गर्दा पिसाब नली साँघुरो भएकाले दुवै मृगौला सुन्निएको चिकित्सकले बताएको शान्ता बताउँछिन् ।
उनी भन्छिन्, ‘डेढ महिनामा दुई वटै मृगौला सुन्निएको थियो । अप्रेशन भएन, पिसाब नली साँघुरो भएको कारण पाईप राखियो । १३ दिनमा पाइप फुस्कियो । त्यसपछि दशैँको भोलिपल्ट अस्पताल लैजादाँ दुई वटै पिसाब नली साँघुरो छ तपाईहरुले पैसा जम्मा गर्नुपर्छ भन्नुभो । उपचार हुन्छ की हुन्न भन्दा ग्यारेण्टी लिन्नौँ हामी, कोशिष गर्छौँ पाइप हाल्न भनेर जवाफ दिनुभो’, चिकित्सकको भनाईलाई उदृत गर्दै उनले भनिन् ।
अस्पतालका चिकित्सकाले राम्रो उपचार हुने भएकाले काठमाडौँ लैजान सुझाएका छन् । तर दुईदेखि तीन लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ । ज्याला मजदुरी गरेर जिवन गुजरा चलाउने शान्ता र तपेन्द्र दम्पतीको गोजीमा दाम छैन् । मनकारी दाता भेटिए छोरालाई निको बनाउँला भन्ने आशमा छन् उनीहरु । ‘छिटो उपचार नभए मृगौला नै ड्यामेज नै हुन सक्छ रे । पैसा नभएर काठमाडौँको हस्पिटल लान सकिएन्’, शान्ताले विलौना गर्दै भनिन्, ‘मेरो छोरालाई बचाईदिनुस् । उपचारमा सहयोग गर्दिनुस ।’ यी दुई दम्पत्तीको १६ महिने जेठा छोरा प्रकाशको स्वास्थ्यमा पनि समस्या छ । टाउको औसत भन्दा ठुलो छ । हिँडडुल गर्न सक्दैनन् । आर्थिक अभावले प्रकाशको पनि उपचार गर्न सकेका छैनन् । निको हुने आश भएर पनि विक दम्पत्तीसँग गोजीमा दाम छैन् । दुई छोरालाई निको बनाउन विक दम्पत्तीले मनकारी दाताको हात र साथ पर्खिरहेका छन् ।