दमाैली : नेकपा एमाले तनहुँकी नेतृ एवं राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदबारी दिने भएकी छिन् । मंसिर १० देखि १२ गते सम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा न्यौपाने महिला कोटाबाट केन्द्रीय सदस्यमा लड्ने भएकी हुन् ।
२०५१ सालमा नेकपा एमालेको सदस्यता प्राप्त गरेकी न्यौपाने २०५६ सालबाट यता निरन्तर नेकपा एमालेको जिल्ला कमिटिमा विभिन्न पदको जिम्मेबारीमा छिन् । न्यौापाने हाल एमाले तनहुँका सचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य र तनहुँका जिल्ला इन्चार्ज समेत हुन् । विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएकी उनी २०६२÷६३ को आन्दोलनको चर्चित पात्र समेत हुन् ।
राष्ट्रिय सभामा महत्वपूर्ण भूमिका खेल्दै आएकी नेतृ न्यौपानेको राष्ट्रिय सभामा हुने मन्तव्य चर्चित बन्दै आएको छ । पार्टीको नीति लाई जोड तोडका साथ राष्ट्रिय सभामा प्रस्तुत गर्ने मात्र नभई उनले राष्ट्रिय राजनीतिका समसामयिक विषयलाई समेत सभामा ओजनदार रुपमा प्रस्तुत गर्दै आएकी छिन् । सोही कारण एमालेको नेतृत्वमा रहेका नेताहरुको नजरमा न्यौपाने पर्दै आएकी छिन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको लाइनकी हार्डलाईनर न्यौपानेलाई यस पटक केन्द्रीय सदस्य बनाई भूगाेलको राजनीतिमा पठाउने विषयमा अध्यक्ष ओली समेत सकारात्मक भएको बताईन्छ ।
तनहुँ क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा लागेपछि र तनहुँ क्षेत्र नम्बर १ का तत्कालिन एमालेका चर्चित नेताहरु सांसद श्रेष्ठ सहित केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, शंकरनारयण श्रेष्ठ, विद्या ढकाल लगायतका नेताहरु नेकपा एसमा लागेर एमाले कार्यकर्ताहरुलाई तानातान गरिरहँदा नेतृ न्याैपानेले कार्यकर्तालाई जोगाउने मात्र हैन, पार्टीको पक्षमा दृढताका साथ उभिन नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। अहिले तनहुँ क्षेत्र नम्बर १ मा न्यौपाने एमालेका कार्यकर्ताको आशा र भरोसाको एक मात्र नेता बन्न पुगेकी छिन् ।
नेतृ न्यौपाने नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएमा तनहुँमा कार्यकर्ताको संरक्षण गर्ने र विपक्षीसँग राजनीतिक मुकाबिला गर्ने र केन्द्रले समेत भरोसा गर्न सक्ने सशक्त नेता पाउने आशा एमाले कार्यकर्ताले गरेका छन् । एमालेले यस पटक ३३ प्रतिशत महिला केन्द्रीय सदस्य ग्यारेन्टी गरेको हुँदा न्यौपाने केन्द्रीय सदस्य बन्नेमा ढुक्क जस्तै देखिएकी छिन् । यस पटक पार्टी नेताहरुकै सल्लाहमा केन्द्रीय सदस्यको उम्मेदबार बन्ने र विजयी समेत हुनेमा ढुक्क रहेको न्यौपानेले बताइन् ।