दुलेगौडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानसँग भिमादको विकासका लागि विकासे योजनाको माग गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टी भिमाद नगर कमिटीका अध्यक्ष काजीमान श्रेष्ठले आइतबार मन्त्री श्रेष्ठलाई योजनाको माग फाइल बुझाउँदै भिमाद क्षेत्रको विकासमा सघाउन आग्रह गरे ।
१० योजनाका लागि पाँच करोड रुपैयाँ संघीय सरकारबाट बजेट विनियोजन गरिदिन आग्रह गरेको श्रेष्ठले बताए । सडकका छ, खानेपानीको दुई, बाँध निर्माण र पहिरो नियन्त्रणका एक÷एक योजनालाई बजेट विनियोजन गर्न माग गरेको उनले जानकारी दिए ।
भिमाद भागर मोटरमार्ग स्तरोन्नति, बगैँचा पोखरीडाँडा सडक ढलान, दैकेडाँडा खानोपानी आयोजना लगायतका योजनाका लागि बजेट माग गरेको उनले बताए ।
मन्त्री श्रेष्ठले समाजवादी पार्टीको मजबुतका लागि पनि अन्तर मन्त्रालयसँग समन्वय गरेर यी योजनामा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले तनहुँको विकासका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।