एमाले तनहुँमा सर्वसम्मत नेतृत्व चयन होला ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले तनहुँमा सर्वसम्मत नेतृत्व चयन होला ?

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७८, शुक्रबार

    दमौली । नेकपा एमाले तनहुँको शुक्रबार आयोजित नवौ अधिवेशन उद्घान समारोहमा स्थायी कमिटी सदस्य किरण गुरुङले भने, “वडा तहदेखि नै नेतृत्व चयनमा सर्वसम्मत भएको छ । चितवनमा सम्पन्न दशौ महाधिवेशनमा पनि केही पद बाहेक सबैमा सर्वसम्मत नेतृत्व चयन भयो । यो एउटा ऐतिहासिक काम हो ।”

    गुरुङले यसो भनिरहँदा जिल्लाको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन होला की नहोला सबैको आम चासोको विषय छ । आठ वर्षसम्म अधिवेशन नहुँदा धेरै आकाङ्क्षी बढेपछि सर्वसम्मत नेतृत्व चयनको विषय पेचिलो बनेको छ । अहिलेसम्मको स्थितिमा अध्यक्ष बाहेकका पदमा सर्वसम्मत नेतृत्व चयन हुने छॉटकॉट देखिएको छैन ।

    अध्यक्षमा हालका उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत हुने करिब निश्चित छ । तर उपाध्यक्ष, सचिव, उपसचिव र सदस्यहरुमा आकाङ्क्षी बढी भएपछि सर्वसम्मत गर्न पार्टी नेतृत्वलाई सकस परेको छ ।

    उपाध्यक्षमा सचिवालय सदस्य हरिराज कंडेल र भिमादका मेयर समेत रहेका मेखबहादुर थापाको दावी छ । सचिवमा हालका कार्यवाहक सचिव विष्णुभक्त सिग्देल र कार्यालय सचिव राजेश्वर ढकालको दावी छ । सबैभन्दा बढी प्रतिस्पर्धा सचिवमा छ । उपसचिव निर्वाचित भएर कार्यवाहक सचिवको जिम्मेवारी सहित सम्हालेका कारण सचिवमा आफ्नो दावी स्वभाविक रहेको सिग्देलले बताए ।

    यता ढकालले पार्टीमा सङ्कट परेको बेला आफूले खेलेको भूमिकाका कारण सचिवमा आफ्नो दावी रहने बताउँदै आएका छन् । सचिवमा सिग्देललाई र ढकाललाई उपसचिवमा मिलाउने सम्भावना पनि बलियो छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल लगायतका नेताको दावी छ ।