दमाैली । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले व्यास नगर क्षेत्रभित्र रहेका सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने भएको छ । नगरक्षेत्रभित्र जथाभावी रुपमा सामुदायिक कुकुर छाडिँदा समस्या भएपछि केन्द्रले बन्ध्याकरण गर्न लागेको हो ।
माघ ११ र १२ गते सामुदायिक कुकुरलाई समातेर बन्ध्याकरण गरिनुका साथै रेविज रोग विरुद्धको खोप लगाइने केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । जथाभावी सामुदायिक कुकुरको बिगबिगी बढेपछि केन्द्रले गत वर्षपनि नगर क्षेत्रभित्रका ५० कुकुरको बन्ध्याकरण गरिदिएको थियो ।
“छाडा कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको सङ्क्रमण हुने खतरा भएकाले कुकुरलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाउन लागिएको हो,” डा. श्रेष्ठले भन्नुभयो ।