माओवादी केन्द्र शुक्लागण्डकीको अध्यक्षमा मनराज निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    माओवादी केन्द्र शुक्लागण्डकीको अध्यक्षमा मनराज निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७८, बिहीबार


    दुलेगौडा । अधिवेशन सुरु भएको दुई महिना पछि मात्र नेकपा माओवादी शुक्लागण्डकी नगर कमिटीले पूर्णता पाएको छ । बिहीबार मतदानमार्फत नगर कमिटीले पूर्णता पाएको हो । 

    नगर कमिटीको अध्यक्षमा मनराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले निकटम प्रतिष्पर्धी शरण सापकोटालाई १५ मतान्तरले पराजित गर्दै नगर कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । गुरुङले ३९ र सापकोटाले २४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । 

    गुरुङले यसअगाडी नगर कमिटी सचिव र कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । सापकोटा वाइसिएलका केन्द्रीय सदस्य तथा गण्डकी उपसंयोजक हुन् । गुरुङलाई गण्डकी प्रदेश कमिटी सदस्य मुक्ति सिग्देल समुह र सापकोटलाई गण्डकी प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रीय सदस्य आशा कोईराला समूहको समर्थन थियो।

    नगर कमिटी अध्यक्षमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य भद्रबहादुर खत्री (विष्णु) पनि उम्मेद्वार थिए । तर मतदान प्रकृयामा नगइकन उनले उम्मेद्वारी फिर्ता लिए ।

    ६५ सदस्यीय नगर कमिटी भएपनि विश्वजित गौतम (दिनेश) र जौमाया बराल सुनारले नगर कमिटीबाट राजिनामा दिएर प्रदेश कमिटी सदस्य भएपछि ६३ मतदाताले अध्यक्ष र उपाध्यक्ष चयनका लागि मतदान गरेका हुन् । 

    उपाध्यक्षमा राजु राना, रामचन्द्र भण्डारी र चेतनारायण पौडेल विजयी भएका छन् । रानाले सर्वाधिक ५४ मत पाउँदा भण्डारी र पौडेलले समान ४७ मत प्राप्त गरे । बुद्धीबहादुर खत्रीले २६ मत पाए ।

    प्रथम नगर अधिवेशनमा जौमाया बराल सुनारले पनि उपाध्यक्षमा उम्मेद्वारी दिएकी थिईन् । प्रदेश सदस्य हुनलाई उनले उम्मेद्वारी फिर्ता लिईन् । 

    सहसचिवमा बिहीबार नै सुमन आले सर्वसम्मत भए।  सहसचिवमा अनिष ढकाल, विनोद पौडेल र मिलन महतले उम्मेदवारी दिएर दाबी प्रस्तुत गरिरहेका थिए । अन्तत आले सर्वसम्मत सहसचिव बन्न सफल भए । 
    मंगलबार भएको बैठकले नगर कमिटीको सचिवमा जीवन पोखरेल र कोषाध्यक्षमा झ्यामकुमारी थापालाई चयन गरेको थियो । सचिवमा अनिल तिवारी र कोषाध्यक्षमा पहलसिं विकको उम्मेद्वारी परेको थियो । सर्वसम्मतका लागि दुवै पछाडि हटेका थिए ।

    मंसिर ११ गते देशभर एकसाथ माओवादीको प्रथम गाउँ तथा नगर अधिवेशन सुरु भएको थियो । आकांक्षी धेरै भएपछि अधिवेशन सुरु भएको दिन ६५ सदस्यीय शुक्लागण्डकी नगर कमिटी मात्र चयन भयो । १८ मंसिरलाई निर्वाचनको मिती तोकेपनि सर्वसम्मत नेतृत्व टुंगो लगाउने भन्दै हुन सकेन् । पार्टीको आन्तरिक गुटगट किचलोको कारण लामो समयसम्म पदाधिकारीको टुंगो लाग्न सकेको थिएन् । किस्ता किस्तामा पदाधिकारी चयन गर्दै शुक्लागण्डकी नगर कमिटीले पुर्णता पाएको छ । योसँगै तनहुँका १० वटै स्थानीय तहमा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।