दमौली । कृषिउपज सामग्री भण्डारण गरी उपयुक्त समयमा बिक्री वितरण गर्नका लागि तनहुँका स्थानीय तहले शीतभण्डार निर्माणलाई अगाडि बढाएका छन् । जिल्लास्थित विभिन्न स्थानीय तहले शीतभण्डार निर्माण थालेका हुन् ।
घिरिङ गाउँपालिका–१ अत्रौलीमा शीतभण्डार निर्माण सुरु भएको छ । सङ्घीय सरकार र घिरिङ गाउँपालिकाको लागत साझेदारीमा शीतभण्डार निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए ।
रु दुई करोड दश लाख ८८ हजार २८६ को लागतमा निर्माण हुने शीतभण्डार २०८० साल मंसीर १४ गतेभित्र सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । शीतभण्डार निर्माणका लागि आरएनसिएस कश्याप जेभीसँग सम्झौता भएको छ ।
किसानले उत्पादन गरेका कृषि उपज वस्तु शीतभण्डारमा राखेर जुनसुकै बेला पनि बिक्री गर्नसक्ने व्यवस्था मिलाउन शीतभण्डार निर्माण थालिएको अध्यक्ष रानाले जानकारी दिए । गाउँपालिका क्षेत्रभित्र उत्पादित कृषि सामग्री सस्तोमा बेच्दा श्रमको मूल्य नउठ्ने समस्या भएपछि शीतभण्डार निर्माणको आवश्यकता खड्किएको थियो ।
गाउँपालिकाभित्र व्यावसायिक रुपमा उत्पादन भएका कृषि सामग्रीको उचित मूल्य पाउन नसक्दा किसानलाई समस्या हुँदै आएको छ, शीतभण्डार निर्माण सम्पन्न भएपछि यो समस्या हट्ने विश्वास लिएका छौं’, उनले भने, ‘गाउँपालिकाभित्र उत्पादन हुने आलु, अदुवालगायतका वस्तुलाई भण्डारणको व्यवस्था मिलाएर बिक्री वितरण गर्ने लक्ष्य लिइएको छ ।’ शीतभण्डार नहुँदा समस्या भोगेका किसान यसको निर्माण सुरु भएपछि खुशी भएका छन् ।
व्यास नगरपालिकाले पनि शीतभण्डार निर्माण थालेको छ । व्यास नगरपालिका-११ मा रु तीन करोडको लागतमा शीतभण्डार निर्माण भइरहेको वडाध्यक्ष नीरबहादुर खड्काले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिकाले पनि गत वैशाखदेखि शीतभण्डार निर्माण गरिरहेको छ । शुक्लागण्डकी नगरपालिका–८ सङ्गम टोलमा शीतभण्डार निर्माण कार्यलाई तीव्रता दिइएको छ । संघीय सरकारको सशर्त बजेट अनुदान र नगरपालिकाको बजेटबाट निर्माण सुरु गरिएको शीतभण्डारको काम तीव्र गतिमा भइरहेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए ।