दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले बिहीबार विज्ञप्ती प्रकाशित गरी मगर दिवसको अवसरमा फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने विज्ञप्तीमा जनाइएको छ ।
मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले बताइन् । गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजार भन्दा बढी मगर समुदायको बसोबास रहेको छ ।
जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् । जनैपूर्णिमा, शहीद दिवस, मगर दिवस, नारी दिवस लगायतका अवसरमा जिल्लाका स्थानीय तहले बिदा दिने गरेका छन् ।