दमाैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लवले जितेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लवलाई पराजित गर्दै अलस्टार उपाधि जितेको हो ।
उपाधिसँगै अलस्टार क्लवले नगद रु ६० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एक्लेफाँटले नगद रु ४० हजारका साथै ट्रफी प्राप्त गरेको छ ।
अध्यक्ष कप अन्तर्गत भलिबलको उपाधि आँबुखैरेनी भलिबल सङ्घले जितेको छ । भलिबलमा आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ उपविजेता बन्यो । विजेता बनेको आँबुखैरेनी भलिबल सङ्घले नगद रु ६० हजार र उपविजेता आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ ले २० हजार नगद प्राप्त गरेको छ ।
व्याडमिन्टनतर्फ दिपक गुरुङ र विनय श्रेष्ठको जोडी प्रथम भएको छ । उहाँहरुले नगद रु २५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । भगवान श्रेष्ठ र अभियान श्रेष्ठको जोडी द्वितीय हुँदा उहाँहरुले नगद रु १५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सन्तोष थपलिया र मिजेन्द्र थापाको जोडी अनुशासित समूह घोषित भएको छ । उहाँहरुले रु पाँच हजार नगद प्राप्त गर्नुभएको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित खेलमैदानमा खेल सञ्चालन गरिएका थिए ।
विजयी हुनेहरुलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
आँबुखैरेनी खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले गाउँपालिकाभित्रका खेलाडीलाई प्रोत्साहन गर्न र खेलकुदमा आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।