दुलेगौडा । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँमा पनि पाँच दलीय गठबन्धन कायम हुने बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले गठबन्धन कायम गरेर जिल्लाका सबै पालिकामा निर्वाचन जित्ने गरी लाग्न आग्रह गरे ।
“निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको छ, गठबन्धनले नै देशलाई निकास र विकास दिन्छ”, उनले भने, “ढुक्क भएर चुनाव जित्ने गरी तयारीमा लाग्नुस् ।” मन्त्री श्रेष्ठले जिल्लाको विकास निर्माणका लागि काम भइरहेकाले जनताले त्यसको मूल्याङ्कन चुनावमा गर्ने धारणा राखे ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङले नगरवासीका समस्या सम्बोधनका लागि आफू सदैव क्रियाशील रहेको बताए । नेकपा एकीकृत समाजवादीका जिल्ला सचिव एवं राष्ट्रिय भूमि आयोगका विज्ञ सदस्य श्रीरामा कार्कीले शुक्लागण्डकीमा सुकुम्वासीका समस्या धेरै रहेकाले निस्सा वितरण सुरु गर्न लागिएको बताए ।