भानु । तनहुँको भानु नगरपालिकामा मेयरका उम्मेदवार श्रीराम पौडेलले घरदैलो अभियान सुरु गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट सर्वसम्मत रुपमा भानु नगरपालिकामा मेयरका उम्मेदवार बनेका पौडेलले घरदैलो अभियान सुरु गरेका हुन् ।
पौडेलले मंगलबार भानु नगरपालिका–१० र ११ मा घरदैलो गरी जनतासँग भेटघाट गरेका छन् । घरदैलोको क्रममा मेयरका उम्मेदवार पौडेलले जनतालाई आफ्ना योजना सुनाउँदै जनताको सुझाव सङ्कलन गरेका छन् ।
समृद्ध भानु नगरपालिका र खुशी भानुवासी जनता बनाउने आफ्नो मूल लक्ष्य रहेको पौडेलले बताए । भानुभक्तको जन्मथलोलाई देशको उत्कृट पर्यटकीय गन्तव्य बनाउने गरी योजना अघि सारेको र त्यसको नतिजा निकट भविष्यमा देखिने पौडेल बताउँछन् ।
विद्यार्थी कालमै अनेरास्ववियुमार्फत राजनीतिमा प्रवेश गरेका पौडेलले विभिन्न माध्यमबाट आफूलाई समाजसेवामा सक्रिय तुल्याएका छन् । नेपाल जेसीजको मुख्य तालिम आयुक्त, सन् २०१८ को राष्ट्रिय महासचिव तथा बाजाजु जेसिजका संस्थापक अध्यक्षको रुपमा काम गरिसकेका पौडेलले तनँहुको भानु नगरपालिका वडा नं ८ का बासिन्दा हुन् ।