दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशले के दियो भन्दा पनि देशलाई के दिन सक्छौ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिकाको ३० औं स्थापना दिवसका अवसरमा बुधबार यहाँ आयोजित कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले देशको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।
जनप्रतिनिधि सुविधाभोगी हुन नहुने भन्दै वरिष्ठ नेता पौडेलले भने, “मैले कति सुविधा पाउँछु, मेरो कति उन्नति हुन्छ भन्ने सोच त्याग्नुपर्छ, देशको हितलाई मात्रै ध्यानमा राख्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले आफ्ना लागि मात्र सोच्न थालियो भने व्यवस्था बर्बादीमा जाने जिकिर गरे ।
राष्ट्रको स्वतन्त्रता र लोकतन्त्र बचाउने अहिलेको मुख्य आवश्यकता रहेको भन्दै वरिष्ठ नेता पौडेलले दुई ठूला देशको बीचमा रहेको नेपाललाई जोगाउनुपर्ने बताए । त्याग र समर्पणको भावना जनप्रतिनिधिमा हुनुपर्ने भन्दै उहाँले जनप्रतिनिधि कल्पनाशील हुनुपर्नेमा जोड दिए ।
सुन्दर शहर, सुखी जनता बनाउने अभियानका साथ चिन्तन गर्नुपर्ने भन्दै उनले विगतमा के गरियो भन्दा पनि अब के गर्ने हो त्यसतर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए । राजनीति र विकासलाई सँगै अगाडी बढाउनुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले गाउँमै जनतालाई बसुँ बसुँ बनाउनुपर्ने उल्लेख गरे । गाउँमा सबै सुविधा पुगिसकेपनि गाउँ रित्तिएको भन्दै उहाँले अब जनतालाई पुनः गाउँ फर्काउने अभियानमा लाग्न आग्रह गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्माले तनहुँको विकासमा रामचन्द्र पौडेलको भूमिकालाई बिर्सन नमिल्ने बताए ।
प्रदेशसभा सदस्य सरिता गुरुङले स्थानीय तहमा भएका विकास निर्माणका कामलाई जनताले मूल्याङ्कन गर्ने बेला आएको बताए । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले विकासमा व्यासले थुप्रै काम गरेको बताउँदै अहिलेको जनप्रतिनिधिको कामलाई आगामी जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेलले स्रोत बढाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा भानु नगरपालिकाका प्रमुख उदयराज गौली, नेपाली काङग्रेसका उपसभापति देवकुमार श्रेष्ठ, नेकपा माओवादी केन्द्रका प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने, प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, आदिवासी जनजाति महासंघ तनहुँकी अध्यक्ष बसुन्धरा घर्ती, पूर्व जनप्रतिनिधि रामचन्द्र बस्नेत लगायतले जनप्रतिनिधि उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पाँच वर्षको अवधिमा जनताको माग र आवश्यकतालाई ध्यानमा राखी काम गरिएको बताए । कार्यक्रमकाे सञ्चालन व्यास नगरपालिकाका प्रवक्ता एव वडा नम्बर ५ का अध्यक्ष माेहनकुमार श्रेष्ठले गरेका थिए ।