बन्दीपुर गाउँपालिकाको अध्यक्षमा माओवादीबाट नौ जनाको दावी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर गाउँपालिकाको अध्यक्षमा माओवादीबाट नौ जनाको दावी

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७८, बुधबार

    बन्दीपुर । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट नौ जना आकाङ्क्षी देखिएका छन् । माओवादीको सबैभन्दा बलियो क्षेत्र रहेको बन्दीपुरमा अध्यक्ष बन्नका लागि नौ जनाले इच्छा व्यक्त गरेका हुन् ।

    गाउँ कमिटीको बुधबार आयोजित बैठकमा वर्तमान अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङ, बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेल, हेमराज लामिछाने, गीता शाही, विद्या लामिछाने, शिव पाण्डे, सिद्धान्त थापा र जीवन कायस्थले अध्यक्षका लागि दावी गरेका हुन् । वैशाख ३ गतेसम्म छलफल गरी अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरिने बताइएको छ ।

    विसं २०७४ सालको निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै निर्वाचनमा जाँदा पनि माओवादीले अध्यक्ष, उपाध्यक्ष र बहुमत वडा जितेको थियो । यसकारण पनि बन्दीपुरमा अध्यक्षका लागि आकाङ्क्षी बढि देखिएका हुन् ।

    सत्तारुढ दलबीच गठबन्धन गरेर निर्वाचनमा जाने सहमति भएसँगै बन्दीपुर माओवादीले पाउने निश्चित छ । सोही कारण निर्वाचनमा जित निश्चित भएकाले अध्यक्ष बन्न माओवादीभित्र प्रतिस्पर्धा छ ।

    नेकपा माओवादी केन्द्रले प्रत्येक जिल्लामा कम्तिमा एक पालिकामा महिला उम्मेदवार अनिवार्य गरेकाले यसपटक बन्दीपुरको अध्यक्षमा करुणा गुरुङको सम्भावना बढी रहेको बताइएको छ । उपाध्यक्ष भएर काम गरिसकेको र अनुभव हासिल गरेकाले गुरुङले अध्यक्ष चलाउन सक्ने माओवादीकै नेता तथा कार्यकर्ता बताउँछन् । त्यसो त अहिलेका अध्यक्ष पूर्णसिं थापाले नै फेरी टिकट पाउने चर्चा पनि छ ।

    वडा नम्बर १ का अध्यक्ष पाेख्रेलले पाँच वर्ष वडाध्यक्ष भएर काम गरेकाे अनुभवका आधारमा आफ्नाे दावी गाउँपालिकामा अध्यक्ष हुने बताउँदै आएका छन् ।