


दमौली । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने भएका छन्। जोशी र नेकपा एमालेका नेताबीच शनिबार बसेको बैठकमा साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको छ।
तालमेललाई प्रभावकारी बनाउन चुनावी परिचालन समिति गठन गरिएको छ । एमालेबाट चार र जोशी समूहबाट चार गरी आठ सदस्यीय समिति गठन गरिएको छ। व्यास नगरपालिकामा जोशीका छोरा दिपकराज जोशी मेयरका आकांक्षी छन् ।
तनहुँ कांग्रेसको विवाद मिलाउन वार्ता समिति गठन गरेपनि कांग्रेस एकलौटी ढंगले अघि बढेकोले एमालेसँग चुनावी तालमेल गर्नुपरेको जोशीले बताए ।
जोशी विकासवादी नेताको रुपमा जिल्लामा चिनिन्छन् । उनको समयमा शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारी, सडक जस्ता क्षेत्रमा विकास भएको बताइन्छ ।
नेता जोशीले आगामी संघीय चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।