आरविएस कृषि फर्ममा सार्वजनिक सुनवाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    आरविएस कृषि फर्ममा सार्वजनिक सुनवाई

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७९, आईतवार

    दुलेगाैडा ।आरविएस कृषि फर्मले सञ्चालनका लागि सरोकारवालासँग सार्वजजिक सुनवाई गरेको छ । शुक्लागण्डकी नगरपालिका–११ थामडाँडामा सञ्चालनमा आउन लागेको कृषि फर्ममा शनिबार सार्वजनिक सुनवाई भएको हो ।

    फर्मले नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइ पोखराको उत्पादन मुलक गठबन्धनमा आधारित पुरक अनुदान प्राप्त गरेको छ । एक करोड ९० लाख रुपैयाँको लागतमा सञ्चालन गरिने कृषि फर्ममा ५० प्रतिशत अर्थात ९४ लाख ९६ हजार ६०४ रुपैयाँ लगानी आयोजनाको हुने फर्मका अध्यक्ष राधाकृष्ण अधिकारीले बताए । उनका अनुसार ज्योति विकास बैंकले ३१.६ प्रतिशत ऋण लगानी गर्नेछ । आरविएस फर्मको १८.४ प्रतिशत लगानी हुने अधिकारीले जानकारी दिए । जग्गा खरिद चक्लाबन्दी बाहेकका काममा आयोजनाको लगानी हुनेछ ।

    जग्गा खरिद गरेर चक्लाबन्दीसँगै घाँस लगाउने काम भईरहेको अध्यक्ष अधिकारीले बताए । उनका अनुसार अब भुक्षय व्यवस्थापन, गोठ बनाउने, चिस्यान केन्द्र, मिल्क पार्लर, गोबर ग्याँस लगायतका संरचना निर्माण गरिनेछ । २० फागुन २०७८ मा सम्झौता भएको आयोजनाकोको म्याद ७ पुस २०७९ सम्म रहनेछ । गुणस्तरिय दुध उत्पादन गरी बजारीकरणसँगै स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्नलाई फर्म सञ्चालन गर्न लागेको उनको भनाई छ ।

    नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाइ पोखराका अनुगमन तथा मुल्यांकन अधिकृत डा. प्रकाश अधिकारीले दुध उत्पादनले रोजगारी उत्पादन गर्ने बताए । ‘कृषिलाई पर्यटनसँग पनि जोड्न सकिन्छ । उदाहरणीय फर्म बनायौँ भने फर्म अवलोकन गर्नलाई आउने किसानसँग आम्दानी लिन सकिन्छ’, उनले भने । दुध, मासु र पश्मिना उत्पादनमा आयोजनाले लगानी गरेको डा. अधिकारीले बताए । उनका अनुसार विश्व बैंकको ऋण लगानीमा सञ्चालित आयोजना देशका २८ जिल्लामा सञ्चालित छन् । गण्डकीमा तनहुँसँगै सात जिल्लामा आयोजना सञ्चालन भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर थापाले फर्म सञ्चालनको सहज वातावरण बनाइदिन स्थानीयसँग अनुरोध गरे । फर्मबाट सिको गरेर स्थानीय पनि उत्पादनमा जोडिनुपर्नेमा उनले जोड दिए ।

    नेकपा माओवादी केन्द्रका वडा कमिटीका अध्यक्ष नारायणप्रसाद सिग्देल अब किसानहरु निर्वाहामुखी मात्रै नभएर व्यवसायिक बन्नुपर्ने बताए । ‘निर्वाहामुखी हुदाँ दैनिक गुजारा चलाउन मुस्किल परेको छ । उन्नत जातको पशुपालन गरेर व्यवसायीक बन्न सकिन्छ’, उनले भने ।

    स्थानीय जनएकता आमा समुहकी अध्यक्ष ठगीमाया थापाले फर्म सञ्चालनले स्थानीयलाई हौसला मिल्ने बताईन् । ‘जग्गा बाँझो राखेर बजारबाट खरिद गरेर खान हामी पल्किएका छौँ । स्थानीयलाई पनि उत्पादनसँग फर्मले जोड्ने आशा गरेका छौँ’, उनले भने ।