दमाैली । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन् । जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधबार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् ।
तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि प्रतिबद्ध रहेको बताए। निर्वाचनलाई निष्पक्ष बनाउन सबै पक्षबाट आचारसंहिताको पालनामा सहयोगको अपेक्षा गरिएको ढुङ्गानाले बताए। निर्वाचनलाई व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक हुने उनकाे भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउँदै सुरक्षा अवस्थालाई मजबुद बनाइने बताए। निर्वाचनपूर्व, निर्वाचनको दिन र निर्वाचनपछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाइएको प्रजिअ अर्यालले बताए ।
जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनको तयारीका लागि कार्यालयले आवश्यक कामहरु गरिरहेको जानकारी दिए। जनशक्ति आंकलन तथा परिचालन गर्ने, कर्मचारीको विवरण सङ्कलन गर्ने कामहरु भइरहेको भन्दै उनले निर्वाचन सामग्रीको व्यवस्थापनको काम सञ्चालन गरिएको बताए ।
आचारसंहिता पालना अनुगमनका लागि जिल्लास्तरमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा प्रमुख जिल्ला अधिकाी, निर्वाचन अधिकृत, प्रहरी उपरिक्षक छन् भने सदस्य सचिवमा निर्वाचन अधिकारी रहने व्यवस्था छ ।
कार्यक्रममा नेकपा एमालेका सचिव राजेश्वर ढकाल, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्रकेशरी न्यौपाने, नेपाली काङ्ग्रेसका सदस्य हुतमणि अधिकारी, विवेकशिल साझाका रमेशप्रसाद आचार्य लगायतले निर्वाचन आचारसंहिता पालनाका लागि प्रतिबद्ध रहेको बताए।
सो अवसरमा राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको बारेमा जानकारी गराइएको थियो ।