दमाैली । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमाले र गोविन्दराज जोशी समूहबीच तनहुँमा तालमेल गर्ने सहमति भएको छ । बिहीबार बसेको बैठकले एमाले र जोशी समूहबीच तालमेलको टुंगो लगाएको हो ।
सहमति अनुसार जोशी समूहले व्यास नगरपालिकामा प्रमुख सहित चार वडाध्यक्ष पाउने सहमति भएको छ । जोशी समूहबाट व्यास नगरपालिकाको प्रमुखमा दिपकराज जोशी उम्मेदवार बन्ने निश्चित भएको छ । जोशी समूहले व्यासमा वडा नम्बर १, २, १२ र १४ वडाध्यक्ष पाउने सहमति भएको एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले जानकारी दिए ।
यसैगरी जोशी समूहले बन्दीपुरमा उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्ष पाउनेछ । भानु नगरपालिकामा जोशी समूहले उपप्रमुख सहित वडा नम्बर ५, ११ र १३ को अध्यक्ष पाउने सहमति भएको छ । आँबुखैरेनीमा जोशी समूहले वडा नम्बर २ र ५ को अध्यक्ष पाउनेछ ।
साथै जोशी समूहले वडाध्यक्ष पाएको ठाउँमा एक जना सदस्य पनि पाउनेछ भने एमालेको वडाध्यक्ष भएको वडामा दुई वटा सदस्य जोशी समूहले पाउने सहमति भएको छ ।
प्रमुख, उपप्रमुख र वडाध्यक्ष पाएको पालिकामा जोशी समूह स्वतन्त्र चुनाव चिन्हमा निर्वाचन लड्ने भएको छ भने वडा सदस्यको हकमा भने सूर्य चिन्ह लिनुपर्ने सहमति भएको छ ।