दमौली । ऐतिहासिक, साहित्यिक र पुरातात्विक महत्व बोकेको तनहुँको भानु नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट मेयरको उम्मेदवार बन्ने श्रीराम पौडेलले घोषणा गरिसकेका छन् । उनलाई पार्टीको जिल्ला समितिले सर्वसम्मत रुपमा मेयरको उम्मेदवार घोषणा पनि गरिसकेको छ ।
पार्टीको यो निर्णयसँगै पौडेल यतिबेला भानु नगरपालिकाका विभिन्न क्षेत्रमा चुनावी क्रियाकलापमा व्यस्त छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भानु नगरपालिकामा नेकपा एकीकृत समाजवादीलाई जिताउने र आफू पनि मेयरमा जित्ने लक्ष्यका साथ उनी निर्वाचन कार्यक्रममा सक्रिय रुपमा लागेका छन् ।
उनी कार्यकर्ता भेटघाट, मतदाता भेटघाट, पार्टी संगठन विस्तार, निर्वाचन केन्द्रीत सम्पर्क कार्यालय स्थापना र अन्य सामाजिक कार्यमा पनि व्यस्त छन् । अर्को शब्दमा भन्दा भानु नगरपालिकामा उनको सक्रियता निक्कै लोभलाग्दो छ ।
उनी राजनीतिले व्यक्तिको स्वभाव, परिवार, समाज र देश परिवर्तन गर्नुपर्छ भन्ने मान्यता राख्छन् । गाउँगाउँ डुल्दा आम जनतामा निराशा मात्रै पाएको भन्दै पौडेल राजनीतिकै मार्फतबाट जनतामा आएको निराशालाई खुसीमा परिवर्तन गर्ने आफ्नो लक्ष्य रहेको बताउँछन् ।
के छन् उनका योजना ?
भानु नगरपालिकालाई समृद्ध बनाउन आफू सक्षम र योग्य उम्मेदवार रहेको दाबी गर्ने श्रीराम पौडेलले केही योजना सार्वजनिक गरिसकेका छन् । ‘आत्मनिर्भर भानु, स्वाबलम्बी भानुबासी, जनविकासका लागि नेकपा एकीकृत समाजवादी’ नारा तय गरेका छन् उनले ।
मेकिङ भानु (भानु बनाउने) अभियान पनि उनले सुरु गरेका छन् । भानु नगरपालिकालाई देशकै समृद्ध, नमुना र रोजाईको नगर बनाउने ध्याउन्नले यो नारा तय गरिएको उनले बताए । उनले भने, मेकिङ भानु (भानु बनाउने) हाम्रो मुख्य ध्याउन्न हो । भानु नगरपालिकालाई देशकै समृद्ध, नमुना र रोजाईको नगर बनाउन नगरको मुख्य नारा नै मेकिङ भानु तय गरिएको छ ।’ भानु नगरपालिकालाई समृद्ध र नमुना बनाउन स्वदेशी तथा विदेशी लगानी जुटाउने र आगामी पाँच वर्षभित्र देशकै एक नम्बर नगरपालिका बनाउने उनको लक्ष्य छ ।
पाँच छ जना परिवारका सदस्य भएको घरमा एक जनाको कमाईले परिवार पाल्न गाह्रो छ । त्यसैले परिवारलाई नै रोजगारी, व्यवसाय र सेवामार्फत स्वाबलम्बी बनाउने उनको लक्ष्य छ । उनी भन्छन्, ‘भानुका नगरका सबै परिवारलाई उद्यमशील बनाउने लक्ष्य छ । जसका लागि एक घर एक व्यवसाय अभियान सञ्चालन गर्र्दैछु ।’ भानुबासीको स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने योजना पनि उनका छन् । पर्यटन, संस्कृति, साहित्यको क्षेत्रमा पनि आमूल परिवर्तन गरी नगरलाई समृद्ध बनाउने उनका योजना छन् ।
कृषि र पशुपालनबाट नै नागरिकलाई धनी बनाउन शुरुको दुई वर्षमै कृषि उत्पादन दोब्बर बनाउने गुरु योजना, नीति तथा कार्यक्रम लागू गर्ने, संघीय सरकारबाट वितरण हुने समाजिक सुरक्षा भत्तामा नगरले सतप्रतिशत थप गरी बैंकमार्फत भुक्तानीको व्यवस्था गर्ने, नगरपालिकालाई पाँच वर्षभित्र डिजिटल भानु बनाइने छ भने सबै घरमा निशुल्क वाइफाइ सुनिश्चित गर्ने, नयाँ सडक खन्ने नाममा हचुवामा जथाभावी डोजर चलाइने छैन, डाँडामाथि भ्यु टावर नबनाउने, रिङराेड निर्माण र नगरबस सञ्चालन गर्ने लगायतका थुप्रै याेजना रहेकाे उनले सुनाए ।
को हुन् श्रीराम पौडेल ?
श्रीराम पौडेल काठमाडौँमा शैक्षिक र सामाजिक क्षेत्रमा चिनिएको नाम हो । उनी शैक्षिक परामर्श व्यवसायमा क्रियाशील छन् भने विभिन्न विद्यालय तथा कलेजका सञ्चालक पनि हुन् । उनले नेपाल शैक्षिक परामर्श संघको केन्द्रीय सदस्यको जिम्मेवारीसमेत बहन गरिसकेका छन् ।
पौडेल बालाजु जेसिजका संस्थापक अध्यक्ष हुन् भने २०१७ को ट्रेनिङ कमिस्नार तथा नेपाल जेसिज २०१८ को महासचिव पनि हुन् ।
हाल उनी नेकपा एकीकृत समाजवादी तनहुँका सचिवालय सदस्य रहेका छन् ।
श्रीराम पौडेल समाजसेवामा पनि सक्रिय छन् । उनले समय समयमा समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक तथा भौतिक सहयोग पनि गरिरहेका छन् । मानव सेवा आश्रमलगायतका आश्रयस्थलमा खाद्यान्न, लत्ताकपडासहित शिक्षा र स्वास्थ्यमा पनि उनले खर्च गर्ने गरेका छन् ।
गठबन्धनको अफ्ठ्यारो
गठबन्धनले कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाइ सकेको छैन । समाजवादीकोतर्फबाट पौडेललाई मेयरमा सिफारिस गरे पनि गठबन्धनका कारण पौडेलले मेयर पद पाउने हुन् कि नपाउने हुन् हेर्न बाँकी नै छ । गठबन्धन गर्दा वीन वीनको स्थितिमा गर्नुपर्ने र एकले जित्ने र अर्कोले हार्ने किसिमले गठबन्धन गर्न नहुने उनी बताउँछन् ।
यदि गठबन्धनले समाजवादीलाई मेयर पद दिए पौडेल स्वतः उम्मेदवार बन्ने पक्कापक्की भएको छ । तर गठबन्धनले मेयरमा अन्य पार्टीलाई दिए उनको सम्भावना के भन्ने विषयमा छलफल चलिरहेको उनले सुनाए । उनी भन्छन्, ‘भानुमा हामीले छाड्नु हुँदैन भन्ने दबाब बढाइरहेका छौँ । तर अन्तिम अवस्थामा गठबन्धनको निर्णय मान्नु पर्छ ।’ समाजवादीले मेयर पाए पनि नपाए पनि पार्टीलाई जिताउने आफ्नो दायित्व भएको उनले बताए ।
यसअघि भानु नगरपालिका कांग्रेसले जितेको थियो त्यसैले यो पटक पनि कांग्रेसले नै दाबी गर्नु स्वभाविक हो । तर समाजवादीलाई मेयर दिए आफू व्यक्तिगत मतले पनि जित्नसक्ने र गठबन्धनको साख बचाउने पौडेलको दाबी छ ।