दमाैली । एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा अभिनेता पल शाह दुई महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् ।
फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरी हिरासतमा रहेका उनी अदालतले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान भएका थिए । उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।
दमौलीस्थित कारागारमा रहेका पललाई भेट्न अहिले दिनहुँ आफन्त र फिल्मकर्मीको घुइँचो लाग्ने गरेको छ । पललाई भेट्न आइतबार दिउँसो काठमाडौंबाट केही फिल्मकर्मी र उनको मुद्दामा बयान दिएका गायक दुर्गेश थापा पनि तनहुँ कारागार पुगेका थिए । पललाई भेटेपछि सञ्चारकर्मी प्रकाश सुवेदीले उनको दिनचर्याबारे यसरी बताए :
बिहान ५ बजे उठ्नुपर्ने नियम छ कारागारभित्र । सखारै उठेर हल्का कसरत हुने रहेछ । त्यसपछि ध्यान योगा गर्नुपर्ने हुँदोरहेछ ।
घण्टी लगाएको टाइमभित्रै खानुपर्ने हुँदोरहेछ । बिहान १० देखि ११ बजे बीचमा खाइसक्नुपर्ने छ । खानामा हप्तामा दुई दिन मासु दिइँदो रहेछ । भित्र रेस्टुरेन्ट पनि रहेछ । पैसा हुनेले रेस्टुरेन्टमा अर्डर दिएर खाना लिन सक्ने रहेछन् । आफ्नो खर्चमा जे मगाएर पनि खान पाइने सुविधा रहेछ ।
पललाई खानाको समस्या देखिएन । उनलाई बेलाबखत बहिनीले पनि लगिदिने गरेकी छन् । कहिलेकाहीं त्यहींभित्रको रेस्टुरेन्टमा पनि खाने गर्दा रहेछन् ।
खाना र बस्नमा कुनै गुनासो छैन भन्ने पलको कुरा छ । कारागारभित्रै साथीहरु पनि धेरै भएका छन् रे । हिरो भनेर सबैले माया पनि गर्छन् रे । दिनभरिमा भेट्न धेरै माया जाने रहेछन् । भेट्न जाने स्थानीय र फिल्मकर्मीको संख्या धेरै देखियो ।
पलले अहिले कपाल काटेका छन् । लामो कपाल पालेर भित्र बस्न नपाइने रहेछ । जेल प्रशासनले नै कपाल काट्न लगाएको छ । कपाल काटेर पल केही दुब्लो देखिए पनि तौल ठीक छ । शारीरिक अवस्था ठीक देखिएको छ ।
एक नृत्य निर्देशक पनि कारागारभित्र सँगै भएकाले उनीहरु साथी भएका छन् । उनीहरु मिलेका पनि छन् । ती नृत्य निर्देशकले गीतमा डान्स कम्पोज पनि गराइरहेका रहेछन् । बाहिर आएपछि त्यो गीतलाई सुटिङ गर्ने उनीहरुको योजना रहेछ ।
भित्रै टेबलटेनिस खेल्न पाइने रहेछ । वातावरण पनि राम्रो रहेछ । भेट्न जाने व्यक्तिहरुलाई पनि निर्वाध भेट्न दिइँदो रहेछ ।
मनिषा कोइरालाले लेखेको पछिल्लो पुस्तक ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’ पढ्दैछन् अहिले कारागारभित्रै पल । बिग्रिएको दिनचर्यालाई कसरी नियमित गर्ने भन्ने कुरा उनले गरे । जेलभन्दा पनि आफूलाई होस्टल बसेजस्तो महसुस भएको उनले बताए ।
बाहिर हुँदा बिहानदेखि रातिसम्म काम–काम भएको र त्यो कामलाई अहिले मिस गरिरहेको उनले बताए । भित्र टेलिभिजन हेर्न पाइने रहेछ । हाम्रा टीभी कार्यक्रम र समाचार हेर्दा रहेछन् । नाम टिपाएर र लाइनमा बसेर बिहान फोन गर्ने सुविधा दिइँदोरहेछ ।
(अनलाइन खबरबाट)