म्याग्देले जटिल प्रकृतिका अपाङ्ग र मानसिक रोगीलाई वार्षिक १५ हजार दिने, टोलमै पुगेर उपचार गर्ने (थप निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देले जटिल प्रकृतिका अपाङ्ग र मानसिक रोगीलाई वार्षिक १५ हजार दिने, टोलमै पुगेर उपचार गर्ने (थप निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०७९, शुक्रबार

    म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकाले जटिल प्रकृतिका अपाङ्गता भएका व्यक्ति र कडा मानसिक रोगीलाई वार्षिक १५ हजार आर्थिक सहायता प्रदान गर्ने भएको छ । म्याग्दे गाउँपालिकाको दोस्रो कार्यकालको पहिलो कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

    गाउँपालिकाका ६ वटै वडाका जटिल अपाङ्गता भएका व्यक्ति र मानसिक रोगीलाई उक्त सहायता प्रदान गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले जानकारी दिए ।

    गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्ग तथा कडा मानसिक रोगीलाई टोल टोलमै पुगेर स्वास्थ्य उपचार गर्ने निर्णय गरेको छ । महिनामा एकपटक विकट वस्तीमा आँखा शिविर, स्वास्थ्य, घुम्ती सेवा प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै सुत्केरी, पूर्ण अपाङ्ग, जटिल मानसिक रोगी र अशक्त ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय भएको अधिकारीले बताए ।

    गाउँपालिकाले स्मार्ट तथा नगरउन्मुख गाउँपालिका निर्माण गर्ने, कार्यालयमा नै बैङ्क काउण्टर खोल्ने, वातावरणमैत्री, बालमैत्री, अपाङ्गमैत्री, महिलामैत्री स्थानीय शासन कार्यान्वयन गर्ने, ठूला पूर्वाधार तथा बहुवर्षीय दीर्घकालिन गौरवका योजना सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

    हाल भइरहेको चालु खर्चमा दश प्रतिशतले कटौती गरी पुँजीगत बजेट वृद्धि गर्ने, फोहरमैला संकलन तथा व्यवस्थापन र टिप्पर प्रयोग गर्ने, लागत साझेदारीमा भित्री सडक कालोपत्रे गर्ने, गाउँपालिकाको दोहोरो प्रवेश विन्दुमा प्रवेशद्वार निर्माण गर्ने, विपद् व्यवस्थापन कोष स्थापनाका लागि सबै पदाधिकाकारीले वार्षिक एक महिनाको पारिश्रमिक अनुदान दिने निर्णय भएको छ ।