दमौली । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले नेपालको शिक्षा र संस्कृतिको क्षेत्रमा युनेस्कोले पु¥याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताएका छन् । युनेस्को क्लव, संस्था तथा सङ्गठनको राष्ट्रिय महासङ्घको शनिबारदेखि तनहुँको भानु नगरपालिका–३ खहरेमा सुरु भएको १२ औं महाधिवेशनको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले शिक्षा र संस्कृतिको क्षेत्रमा युनेस्कोले खेलेको भूमिका बिर्सन नमिल्ने उल्लेख गरे ।
देश विकासका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको बताउँदै मन्त्री विश्वकर्माले सरकारले पनि शिक्षालाई प्राथमिकतामा राखेको बताए । गण्डकी प्रदेशलाई शिक्षाको हब बनाउने उद्देश्य सहित नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ राखिएको मन्त्री विश्वकर्माको भनाई थियो । युनेस्कोसँग सहकार्य गरेर शिक्षा र संस्कृतिको क्षेत्रमा काम गर्न प्रदेश सरकार तयार रहेको मन्त्री विश्वकर्माले बताए ।
प्रदेश सरकारले विकासको कामलाई तीव्रता दिइरहेको जनाउँदै मन्त्री विश्वकर्माले रोजगारी सिर्जना र कृषिमा आधुनिकीकरण उच्च प्राथमिकतामा राखिएको बताए । क्षमता र हैसियतका आधारमा विकास निर्माणका कामलाई सञ्चालन गरिएको बताउँदै उनले भने, “सीमित स्रोत र साधनका बाबजूद प्रदेशलाई समृद्ध बनाउने अभियानमा लागिपरेका छौ ।”
कार्यक्रममा युनेस्को क्लव, संस्था तथा सङ्गठनको राष्ट्रिय महासङ्घका अध्यक्ष एवं भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले आफूहरु प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर शिक्षा र संस्कृतिको क्षेत्रमा भएका कामलाई निरन्तरता दिन प्रतिबद्ध रहेको बताए ।
आइतबारसम्म सञ्चालन हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनमा देशका विभिन्न जिल्लाबाट प्रतिनिधिको सहभागिता रहेको छ ।