व्यासका तीन वडामा घर बनाउँदा दश प्रतिशत छाड्न नपर्ने, नगरवासीको असन्तुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासका तीन वडामा घर बनाउँदा दश प्रतिशत छाड्न नपर्ने, नगरवासीको असन्तुष्टि

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७९, शनिबार

    दमौली । व्यास नगरपालिकाले बजार क्षेत्रका तीन वडामा ०-२-२-० जग्गामा घर निर्माण गर्दा दश प्रतिशत भूभाग छाड्न नपर्ने निर्णय गरेको छ ।

    व्यास-२,३,४ का वडाका दुई आना दुई पैसा जग्गामा दश प्रतिशत मापदण्डलाई हटाई पूरै क्षेत्रफल जग्गामा घर निर्माण गर्न दिने निर्णय गरेको हो।

    शुक्रबार सम्पन्न नगरसभाले गरेको यो निर्णय कार्यान्वयनका लागि नगरप्रमुखको संयोजकत्वमा पॉच सदस्यीय कार्यान्वयन समिति गठन गरिएको छ ।

    नगरपालिकाले गरेको यो निर्णयप्रति नगरवासीले असन्तुष्टि जनाएका छन् । नगरपालिकाले नगरवासीलाई विभेद गरेको गुनासो आएको छ ।

    व्यास-१ का सनम तामाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पृथ्वीराजमार्गले छोएको व्यास नपा वडा १ र ५ लाई किन यस्तो विभेद गरियो ? जनसंख्या र क्षेत्रफलको हिसाबले यी दुबै वडा ठूला छन । घर जग्गाको कारोवार अत्यधिक बढी रहि नगरपालिकाको राजश्व संकलनमा ठूलो योगदान रहेको छ । २,३ र ४ लाई यो नियम लागु हुँदा १ र ५ का जनप्रतिनिधिले किन आवाज उठाउन सकेनन् ?’

    व्यास-१३ का इश्वरराज पन्थले कित्ताकाट भइसकेका साना घडेरीहरि सबै वडामा भएकाले यो मापदण्ड सबै वडामा लागु हुनुपर्ने बताए । ‘नगर भनेको सहर हो । नगरपालिकाका सबै वडा भविष्यका शहरी क्षेत्र बन्ने बनाउने उद्देश्य हुनुपर्छ । बेलबासदेखि वडाभरीका सडक क्षेत्रमा २ आने घडेरी खरिदबिक्री भएका छन् । त्यहाँ पनि दश प्रतिशत मापदण्ड कायम राख्ने हो भने कस्तो घर बन्ला? अनि निर्णय गर्दा यस्तो कन्जुस्याइँ किन?’ उनले भने ।