दमाैली । तनहुँको व्यास नगरपालिका–६ शिशाघाटमा सहिद उद्यान निर्माण गरिनुका साथै दुई सहिदको शालिक अनावरण गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्तर्गत तनहुँ क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य आशा कोइरालाको पहलमा विनियोजित बजेटबाट सहिद उद्यान र शालिक निर्माण गरिएको हो ।
उद्यानभित्र निर्माण गरिएको दुई सहिदको शालिकको मङ्गलबार अनावरण गरिएको छ । उद्यानभित्र निर्माण गरिएको वनबहादुर माल र केशव गौलीको शालिकको अनावरण गरिएको हो ।
विसं २०२७ साल जेठ २७ गते जन्मिएका मालले विसं २०५८ माघ २३ गते म्याग्दे गाउँपालिका–२ मा सहादत प्राप्त गरेका थिए । त्यस्तै विसं २०३३ माघ २८ गते जन्मिएका गौलीले विसं २०५९ असार २८ गते म्याग्दे गाउँपालिका–२ जामुनेमा सहादत प्राप्त गरेका थिए ।
आर्थिक वर्ष ०७८÷७९ मा प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् रु पाँच लाखको लागतमा उद्यान र सहिदको शालिक निर्माण गरिएको थियो । उक्त शालिकको गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले अनावरण गरेकी छन् ।
कार्यक्रममा प्रदेशसभा सदस्य कोइराला, नेकपा माओवादी केन्द्रका नेता अतिन्द्रकेशरी न्यौपाने, व्यास–६ का वडाध्यक्ष जीवन गुरुङ लगायतले सहिदले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।