दमौली । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथिको झोलुङ्गे पुलबाट हाम फाल्दा शुक्रबार एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका–९ गजौडे घर भई हाल व्यास नगरपालिका–२ अमरापुरी बस्ने २८ वर्षीया बविता परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
प्रहरी र स्थानीयवासीले ती महिलाको शवको उद्धार गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्षक खड्काले जानकारी दिए। प्रत्यक्षदर्शीका अनुसार ती महिला झोलुङ्गे पुलमा झोला राखेर नदीमा हाम फालेकी थिइन् ।