दमौली । तनहुँका दुई पालिकामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन खुला गरिएको छ । राष्ट्रिय भूमि आयोगले भूमिहिनका लागि ३५ दिने सूचना जारी गरेको हो ।
शुक्लागण्डकी नगरपालिका र ऑबुखैरेनी गाउँपालिकाका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि निवेदन दिन ३५ दिने सूचना जारी गरिएको हो ।
आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ । शुक्लागण्डकी र ऑबुखैरेनीले विभिन्न कारण देखाई लगत संकलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुन: सूचना प्रकाशनका लागि अनुरोध गरेको थियो ।
ती दुई पालिकामा भदौ २ देखि ३५ दिनभित्र स्थानीय तहबाट वडामा तोकिएका स्थानहरुमा खटिएका लगत संकलक मार्फत् पेश गर्न आग्रह गरिएको छ ।
यसअघि जिल्लाका दशवटै पालिकामा लगत संकलन गरिसकिएको थियो । शुक्लागण्डकी र देवघाटका एक/एक वडामा जग्गा नापीको काम समेत सुरु भइसकेको छ ।